अत्तरियामा तीन करोड लगानीमा ‘बिग बुल फिटनेस एण्ड जुम्बा’ जिम सञ्चालनमा
अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियाको लोटस गल्लीमा निर्माण गरिएको ‘बिग बुल फिटनेस एण्ड जुम्बा’ जिम हलको उद्घाटन गरिएको छ। सञ्चालकका अनुसार सुदूरपश्चिमकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधा सम्पन्न जिम हल हो। जिम हलको शनिबार एक कार्यक्रमका बीच गुलरिया वनदेवी मन्दिरका लोमस गिरी महाराजद्वारा रिबन काटेर उद्घाटन गरिएको छ।
चार जना युवा व्यवसायीको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको जिममा अत्याधुनिक जिम उपकरणहरूका साथै जुम्बा अभ्यासको सुविधा समेत उपलब्ध छ। झण्डै ३ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको क्लब सुदूरपश्चिममा सबैभन्दा ठूलो लगानीमा स्थापना भएको जिम दावी गरिएको छ।
सञ्चालक राजु भट्टराईले स्वास्थ्यप्रति जनचेतना बढ्दै गइरहेका बेला अत्तरियामा यस्तो सुविधा आवश्यक रहेको बताए। उनले बिग बुल जिमले युवापुस्तालाई फिटनेसप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे।
भट्टराईले स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले अत्याधुनिक उपकरणसहितको जिम र फिटनेस हल सञ्चालनमा ल्याएको उल्लेख गरे।
यस्तै अर्का सञ्चालक तथा फिटनेस प्रशिक्षक रञ्जित लामाले आधुनिक जिमका सबै उपकरणहरू समेटिएको यो हल स्वास्थ्यप्रेमीहरूका लागि उपयोगी हुने बताए। उनले व्यवसायिक उद्देश्यभन्दा पनि जनस्वास्थ्यलाई प्राथमिकता दिँदै यो सेवा सुरु गरिएको स्पष्ट पारे। फिटनेस, जिम र जुम्बाजस्ता सेवा सुविधासहितको व्यायामशालाले स्वास्थ्यप्रेमी, खेलप्रेमी र युवाहरूलाई लक्षित गर्दै उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास गरिएको छ।
बिगबुल फिटनेसमा जिम, कार्डियो, स्ट्रेन्थ ट्रेनिङ, जुम्बा, लगायतका विविध कार्यक्रमहरू उपलब्ध रहेको साथै जिममा आधुनिक फिटनेस उपकरणहरू जडान गरिएको छ। जुन अन्तर्राष्ट्रिय स्तर अनुसारका रहेका छन्। जिम हलमा वैशाख महिनाभरि आउने सेवाग्राहीहरूलाई निःशुल्क भर्ना सुविधा प्रदान गरिएको छ।
प्रतिक्रिया