धनगढी लगायत देशका यी स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास रहने
धनगढी । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा केही दिनदेखि तातो लहर चलेको छ। दुई प्रदेशका तराईका विभिन्न ठाउँहरुमा तापक्रम ४० डिग्री आसपास छ। ती स्थानहरूमा शनिबार पनि तातो लहर चल्ने कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले लगातार दुई तीन दिन तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि कायम रहेको अवस्थामा तातो लहरको चेतावनी जारी गर्छ।
लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ।
विशेषगरी धनगढी र नेपालगन्जमा तापक्रम लगातार ४० डिग्री वा त्यो भन्दा बढी मापन हुँदै आइरहेको छ। शनिबार पनि त्यस क्षेत्रमा तातो हावा चल्ने भएकाले महाशाखाले सतर्क रहन भनेको छ।
शुक्रबार मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक(दुई स्थानहरुमा ४० डिग्री सेल्सियस र धेरै स्थानहरूमा ३९ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको थियो।
‘देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शनिबार पनि मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी रही अत्याधिक गर्मीको सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ।
प्रतिक्रिया