जलेको अवस्थामा मृत फेला परेका रानाको शव परीक्षणका लागि धनगढी लगियो

  मङ्गलबार १०, बैशाख २०८२ १६:३३

कञ्चनपुर । कञ्चनपुरको बेलौरीस्थित कलकत्ता नजिकै मंगलबार बिहान जलेको अवस्थामा फेला परेका बेलडाँडी ३ कमरी निवासी ५० वर्षीय हरिकिसन रानाको शव मंगलबार अपरान्ह मात्रै उठाइएको छ । 

उनको शव परीक्षणका लागि धनगढी लगिएको छ । परिवारजनका अनुसार, राना मंगलबार एकाबिहानै घरबाट निस्किएका थिए । उनी करिब ७ किलोमिटर टाढा बेलौरीको कलकत्ता क्षेत्रमा रहेको निर्मल शारदा आर्यघाट नजिकै मोटरसाइकल सहित पूर्ण रूपमा जलेको अवस्थामा भेटिएका थिए । 

मृतकका आफन्तहरूले रानालाई हातखुट्टा बाँधेर जलाइएको हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिन र परिवारजनको भरणपोषणको माग गरेका छन् । 

इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपेन्द्र बहादुर चन्दका अनुसार मृतकको सनाखत गर्दा बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीका ५० वर्षीय हरिकिसन राना भएको पुष्टि गरिएको छ । 

घटनाको गम्भीरता हेर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको थियोे । धनगढीबाट तालिम प्राप्त कुकुर समेत घटनास्थलमा ल्याई घटनास्थल जाँचबुझ गरिएको छ । 

प्रहरी टोलीले  घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । मृतक राना पेशाले भैंसीपालक किसान हुन् । उनी स्थानीय क्षेत्रमा दुग्ध व्यवसायमा पनि सक्रिय रहेको जानकारी प्राप्त भएको छ । 

घटनास्थलमा संघीय सांसद तारा लामा तामाङ सहित स्थानीय तहका जनप्रतिनिधिहरू समेत पुगेका छन् । उनीहरूले पनि घटनाको सत्यतथ्य छानबिनका लागि सुरक्षा निकायलाई अनुरोध गरेका छन् । बुधबार अपरान्ह मात्रै मृतकको शव परीक्षणका लागि धनगढी लगिएको छ ।

clock मङ्गलबार १०, बैशाख २०८२ १६:३३

प्रतिक्रिया