धनगढीको तापक्रम ४०.८ डिग्री सेल्सियस मापन

  मङ्गलबार १०, बैशाख २०८२ १५:४५

धनगढी । पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडी जिल्ला डोटीको दीपायलमा गर्मी बढ्दै गएको छ । 

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीका अनुसार कैलालीको धनगढीमा आज अधिकतम तापक्रम यो वर्षकै बढी मापन गरिएको छ । धनगढीको तापक्रम ४०.८ डिग्री सेल्सियस मापन गरिएको चौधरीले बताए ।

‘अहिले पनि तातो हावा चलिरहेको छ, बेलुकासम्म तापक्रम अझै बढ्ने देखिन्छ,’ उनले भने । धनगढीमा हिजो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस मापन गरिएको थियो । 

यस्तै दीपायलको तापक्रम पनि बढेर ३८ डिग्री नाघेको छ । मौसमविद् रोजन लामिछानेले पश्चिम तराईसंगै देशभर अझै तापक्रम बढ्दै जाने बताए ।

 उनका अनुसार तत्काल देशभर ठुलो पानी पर्ने सम्भावना छैन । स्थानीय तथा पश्चिमी वायुको प्रभाव आंशिक रुपमा मात्रै देखिएको लामिछानेले बताए ।

clock मङ्गलबार १०, बैशाख २०८२ १५:४५

प्रतिक्रिया