अत्तरियामा घरेलु हिंसा पीडित बुढा मृत फेला, श्रीमान र सासु पक्राउ
धनगढी । कैलालीको अत्तरियामा हरेलु हिंसा पीडित महिला मृत अवस्थामा फेला परेकी छन् ।
गोदावरी नगरपालिका–१ को विजयनगरकी जानदेवी बुढा शुक्रबार बिहान घरमै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनी काठको सिढीमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
बुढाले डेढ वर्ष अघि अत्तरियाका कृष्णबहादुर रावलसँग विवाह गरेकी थिइन् । श्रीमान र परिवारका सदस्यले आफूमाथि कुटपिट गर्ने गरेको, खाना नदिने, शारीरिक तथा मानसिक यातना दिएको भन्दै बुढाले केही समय अघि प्रहरीमा पुगेकी थिइन् ।
प्रहरीले बुढाका परिवारका सदस्य र माइती पक्षलाई बोलाएर छलफल गर्दै उप्रान्त घरेलु हिंसा नगर्ने सहमतीमा छाडेको थियो । तर शुक्रबार भने मृत भेटिएकी हुन् । बिहीबार राति भाइलाई म्यासेज गर्दै बुढाले आफूमाथि श्रीमान र सासुले कुटपिट गरिरहेको उल्लेख गरेकी थिइन् ।
घटनापछि बर्दियाबाट उनका माइती पक्ष अत्तरिया आएपछि शनिबार मात्र शव उठाइएको छ भने उनका श्रीमान कृष्ण बुढा र सासु गोमादेवी रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले जानकारी दिए ।
दुवै जनालाई आत्माहत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान भइरहेको थापाले बताए ।
प्रतिक्रिया