कैलालीमा श्रीमतीको कानको जाली फुट्ने गरी कुटपिट गरेर श्रीमान् फरार

  शनिबार ०७, बैशाख २०८२ १५:५५

धनगढी । कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन् । गौरीगंगा नगरपालिका–९ का खकेन्द्र जैशीले श्रीमतीमाथि कुटपिट गरेर कानको जाली फुटाएको आरोप लागेको छ । 

जैशीलाई कारवाहीको माग गर्दै उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय मसुरियामा निवेदन दिएकी थिइन् ।

प्रहरीले पटक-पटक छलफलका लागि बोलाउँदा समेत उनी नआएपछि उनकी श्रीमती केही महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय समेत पुगेकी छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमानले आफूमाथि पटक-पटक कुटपिट गरि घरेलु हिंसा गर्ने गरेकाले पक्राउ गरेर कारवाही गर्न माग गरेकी छन् ।

श्रीमानले आफूलाई बारम्बार कुटपिट गर्ने तथा शारीरिक यातना दिने गरेको बताउँदै उनले सहन नसकेर प्रहरीमा आएको बताएकी छन् । प्रहरीले उनलाई किटानी जाहेरी ल्याएर आउन सुझाव दिएको जनाएको छ ।

श्रीमती जिल्ला प्रहरी कार्यालय पुगेको थाहा पाएपछि उनका श्रीमान भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

clock शनिबार ०७, बैशाख २०८२ १५:५५

प्रतिक्रिया