कैलालीको बर्दगोरियामा सुतेकै कोठामा इग्ल्यान्डका नागरिक मृत भेटिए

  शुक्रबार ०६, बैशाख २०८२ ०७:१३

धनगढी । कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन् ।

इग्ल्यान्ड घर भएर टुरिष्ट भिसामा नेपाल आएका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका-४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरि बस्ने गोर राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताए ।

उनकाअनुसार उनी कोठामा भित्रबाट चुक्कन लगाएर ढोका बन्द गरेको अवस्थामा मृत भेटिएका थिए ।

सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

घटनास्थल कार्य सकेर शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रकृिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मृतक र नेपाली मूलकी भारतीय महिला बमका बुवा साथी हुन् ।

घुम्नकै लागि नेपाल आएका उनीहरू कार्तिकदेखि बर्दगोरिया(४ मा छुट्टाछुट्टै घरमा डेरा गरि बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock शुक्रबार ०६, बैशाख २०८२ ०७:१३

प्रतिक्रिया