चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता

  बुधबार ०४, बैशाख २०८२ १७:२३
वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान आदेशका लागि सम्झौता गर्दै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

धनगढी । कैलालीको चिसापानी–कुइने सडक क्षेत्रमा परेको रुख कटान आदेशका लागि सम्झौता भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान आदेशका लागि वन तथा वातावरण मन्त्रालय र सडक विभागबिच सम्झौता भएको हो ।

वन मन्त्रालयले लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा पर्ने राष्ट्रिय वनको ८।९२ हेक्टर जग्गा प्रयोग एवम् त्यस क्षेत्रमा रहेको ४७२ वटा रुख हटाउनका लागि पनि सहमति गरेको छ ।

सङ्घीय सरकारले ७।२ किलोमिटर ठेक्का सदर गरे पनि रुख कटानीको आदेश नभएकाले कालोपत्रे सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । रुखले सडक निर्माण कार्य रोकेपछि मुख्यमन्त्री शाहले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई सरोकारवाला निकायका प्रमुखहरूलाई भेटेर सडक निर्माणको काम अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

चिसापानी–कुइने सडकको ७।२ किलोमिटर खण्डमा कालोपत्रेका लागि २०७९ साउन ३ गते ठेक्का भएको थियो । तर रुख कटानको आदेश नआउँदा काम अगाडि बढ्न सकेको छैन । रुख कटान आदेश नआउँदा कालोपत्रे सडक निर्माणको काममा ढिलाइ भइरहेको छ भने, आउँदो असारमा ठेक्काको समावधी पनि सकिँदै छ । 

चिसापानी–कुइने सडक भएर आठ जिल्लाका स्थानीयले तराईसम्म ओहोरदोहोर गर्ने गरेका जनाइएको छ । यो सडक नबन्दा उनीहरूले कठिन यात्रा गर्न बाध्य छन् । सो सडक निर्माणका लागि दिव्यज्योती–शाही जेभीले १२ करोड ८० लाख रुपियाँमा ठेक्का पाएको छ ।

clock बुधबार ०४, बैशाख २०८२ १७:२३

प्रतिक्रिया