बैतडीमा असिनापानीले बालीनालीमा क्षति
धनगढी । बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ। शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो। रोप्न तयार पारेका तरकारीका बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन्।
शनिबार दिउँसो तीन बजेतिर परेको असिनापानीले पाटन नगरपालिका वडा नं ८ र ९ मा अन्नबाली तथा तरकारी खेतीमा व्यापक क्षति गरेको किसान जयन्ती बिजले बताए ।
यसैगरी सूर्नया गाउँपालिकाको वडा नं ६ को मुसे, रौटेलगायत गाउँमा परेको असिनापानीले यहाँका किसानको पाक्न लागेको गहुँबाली सखाप पारेपछि बर्खाको समय अब के खाने भन्दै चिन्तामा परेको किसान उद्धवबहादुर चन्दले बताए ।
शनिबार ३ बजे दिउँसो मुसलधारे वर्षासँगै परेको असिनापानीले यहाँका अधिकांश किसानको गहुँबालीमा क्षति भएको सूर्नया गाउँपालिका ६ का किसान पदमराज भट्टले बताए ।
असिनाले बैतडीका धेरैजसो गाउँमा किसानको गहुँबाली, सागपातका बेर्ना र फलफूलमा क्षति गरेपछि अहिले यहाँका किसान चिन्तित भएको ज्याफूका लोकबहादुर ऐरीले बताए ।
शनिबारको असिनापानीले बैतडीका विभिन्न ठाउँमा ठुलो क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। तरकारी र हिउँदेबालीलाई अहिले असिनापानीले क्षति गरेपछि यहाँका किसान तनावमा छन्।
प्रतिक्रिया