अछामको जयगढ बजारआगलागीपीडितलाई सहयोग जुट्दै

  शुक्रबार २९, चैत २०८१ ०९:१८

अछाम । जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ । अग्निपीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको छ । 

जयगढ बजारमा भएको आगलागीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रकम दिने भएको छ । यस्तै स्थानीय बान्नीगढी जयगढ गाउँपालिकाले तत्काल राहतका लागि छ लाख रुपियाँ दिने निर्णय भएको छ । राहतका लागि भन्दै नेकपा (एमाले) अछामले आगजनीपीडितका लागि एक लाख ११ हजार र नेपाली कांग्रेस अछामले एक लाख रकम सहयोग गर्ने घोषणा गरेका छन् । 

आगलागीपीडितका लागि पञ्चदेवल विनायक नगरपालिकाले एक लाख रुपियाँ सहयोग गर्ने भएको छ । धनगढीमा रहेको मायामेट्रो अस्पतालले एक लाख रुपियाँ सहयोग गरेको छ ।

यस्तै मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराले एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ । स्थानीय पत्रकार धनराज साउदले अरू पसल बचाउनका लागि आफ्नो घर भत्काउन सहयोग गर्नेलाई १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । 

मङ्गलबार राति करिब  ७स्३० बजेतिर आगलागी भएर २३ घरमा रहेका ३५ वटा पसल जलेर नष्ट भएको बान्नीगढी जयगढ गाउँपलिकाले जानकारी दिएको छ । जयगढ बजारमा भएको आगलागीमा सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि विस्तृत रूपमा विवरण सङ्कलन भइरहेको भण्डारीको भनाइ छ । 

बान्नीगढी जयगढ गाउँपालिकाले पीडितको तत्कालका लागि व्यवस्थापन भइसकेको दीर्घकालिन व्यवस्थापनका लागि सरकारी र अन्य क्षेत्रसँग समन्वय भइरहेको विज्ञप्ति प्रकाशित गरेको छ । गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदको हस्ताक्षरित विज्ञप्तिमा आगलागी नियन्त्रणका लागि दमकल सहयोग गर्ने मङ्गलसेन नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयलाई धन्यवाद दिएको छ ।  

clock शुक्रबार २९, चैत २०८१ ०९:१८

प्रतिक्रिया