कैलालीको टीकापुरमा ७ वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार

  बिहिबार २८, चैत २०८१ १६:२९

धनगढी । कैलालीमा ७ वर्षीया बालिकामाथि विद्यालयमै जबरजस्तीकरणी भएको छ । टीकापुर नगरपालिका–४ मा रहेको राम जानकी इंग्लिस बोर्डिङ स्कुलमा ७ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको पाइएको हो ।

बलिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनराजा बुढाथोकीले बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा किशोरलाई ११ चैतमा पक्राउ गरिएको हो । घटना भने ६ चैतको भएको प्रहरीले जनाएको छ । बालिकाको यौनीबाट रगत बग्न थालेपछि उनीमाथि जबरजस्तीकरणी भएको खुलेको थियो ।

पीडित बालिकाका अभिभावककाअनुसार यौनीबाट रगत बगेपछि उपचारका लागि अस्पताल लगिएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनीमाथि बलात्कार भएको बताएपछि बालिकाले घटनाबारे विस्तृत बताएकी थिइन् ।

मेडिकल रिर्पोट र बालिकाको बयानका आधारमा उनकी आमाले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् तर अहिले भने घटना मिलाउनुपर्ने भन्दै पीडित परिवारमाथि अनावश्यक दबाब दिइएको छ । बालिकाका बुवाले प्रहरीलाई आफ्नो छोरीमाथि बलात्कार नभएको भनेर भन्न विद्यालयका शिक्षक र गाउँका अगुवाले दबाब दिइरहेको बताए ।

तर आफूले भने छोरीमाथि बलात्कार गर्नेलाई प्रचलित कानुनअनुसार कारवाही हुनुपर्ने बताए । आफू घरमा नभएका बेला श्रीमती र छोरीलाई भेटेर अनावश्यक तनाव दिदै अदालतमा मुद्दामा बयान फेरेर होस्टाइल गर्न दबाब दिइएको उनी बताउँछन् । विद्यालयका शिक्षकहरुले बदनाम हुने भन्दै पैँसा लेनदेन गरेर भएपनि मुद्दा कमजोर बनाउन भूमिका खेलिरहेको पीडित पक्षको भनाई छ ।

बालिकाका बुवाले बयान फेरेर मुद्दालाई होस्टाइन गर्न अनेक खालका दबाब र प्रभाव आइरहेको भन्दै मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन् । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी परेको छ ।

clock बिहिबार २८, चैत २०८१ १६:२९

प्रतिक्रिया