अछामकी १२ वर्षीया बालिका बलात्कृत, खोजतलास गर्दै प्रहरी
अछाम । अछामकी एक १२ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । भारतको गुजरातमा रोजगारी गर्न गएका बुवाआमासँगै रहेकी ती बालिका झण्डै ५५ वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन् ।
तर अहिले पेटमा करिब २५ हप्ता भन्दा बढीको बच्चा रहेको थाहा भएपछि घटना सार्वजनिक भएको छ । चौरपाटी गाउँपालिका घर भएकी ती बालिका अहिले बुवाआमा सँगै घर फर्किसकेकी छिन् ।
बलात्कारको घटना बाहिरिएपछि बालिकाका आफन्तहरु अहिले न्यायको खोजीमा भौतारिरहेका छन् । बलात्कारको आरोप लागेका पुरुष अहिले पनि भारतमै छन् ।
घटना बाहिरिएपछि पिडित बालिकाका आफन्तले ती युवकलाई समातेर भारतीय प्रहरीको जिम्मा लगाएका थिए । तर स्रोतका अनुसार ती आरोपित पुरुष दोस्रो दिन त्यहाँबाट भागेका थिए । बलात्कृत बालिका र आरोपित पुरुष फरक(फरक वडाका हुन् ।
ती पुरुषविरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा मुद्धा दर्ता भएको छ । केही दिन अगाडी मात्रै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरिसकेको अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
मुद्धा दर्ता भएसँगै अछाम प्रहरीले भारतमा लुकेका उनको खोजी कार्यका लागि विभिन्न प्रयास गरिरहेको छ । बालिकाको अवस्था जटिल बन्दै गएपछि अहिले उनको उपचार जारी छ ।
प्रतिक्रिया