कैलालीको कैलारी गाउँपालिकामा  ‘राजा’ देशराजको वृन्दा भवन जीर्ण

  आइतबार ११, फागुन २०८१ ०९:३३
जीर्ण बनेको जमिनदार देशराज महतोको वृन्दा भवन । तस्बिर : अविनाश चौधरी

धनगढी । तीन दशकसम्म कैलालीका कैयौँ गाउँमा राज गर्नुभएका जमिनदार देशराज महतो (करियामघरिया) को वृन्दा भवन जीर्ण बनेको छ । सशस्त्र द्वन्द्वका क्रममा मान्छे बस्न छाडेको कैलारी गाउँपालिका–२, उजलीसेमरस्थित जमिनदार महतोको वृन्दा भवन रेखदेख नभएपछि जीर्ण बनेको हो । 

तत्कालीन समयमा आफूलाई राजाका रूपमा चिनाएका महतोले २०१४ सालमा दुई तलाको भव्य भवन बनाउका थिए । दुई श्रीमतीमध्ये जेठी श्रीमती वृन्दाको नाममा सो भवनको नाम राखिएको थियो । भारतको लखनउका कालीगढले लखनउबाटै निर्माण सामग्री ल्याएर बनाएको वृन्दा भवन अब दुव्र्यसनमा फसेँकाहरूका लागि अखडा बनेको छ । त्यहाँ लागुऔषध प्रयोगकर्ता गएर विभिन्न क्रियाकलाप गर्ने गरेको बताइएको छ । भुइँतलामा छ र माथिल्लो तलामा छ गरेर १२ कोठाको वृन्दा भवनका पर्खाल भत्किन लागेका छन् । भवनको पर्खालमै पिपलको बोटसहित झारपात उम्रिसकेको छ । 

जमिनदार महतोको निधनपछि उहाँका दुई छोरा वृन्दा भवनमा बस्दै आएका थिए तर सशस्त्र द्वन्द्वका क्रममा उनीहरू विस्थापित भएपछि भवन अलपत्र परेको पूर्ववडाध्यक्ष एवं उजलीसेमरवासी सन्तु चौधरीले बताए । “जमिनदारले धनसम्पत्ति लुकाएका होलान भनेर पछि मान्छेले पर्खाल फुटाएर, भुइँतलाको जमिन खनेर सम्पत्ति खोजे,” उनले भने, “रेखदेख नभएको भवन अब जीर्ण भइसकेको छ ।”

विगतमा सानसौकतको प्रभावले सधैँ जसो गुलजार रहेको वृन्दा भवन अहिले खण्डमा परिणत भएको छ । भवनपरिसरमा स्थानीयले गोरु बाँधेका कारण गोठ जस्तो देखिने गरेको छ । स्थानीयका अनुसार २०१५ देखि २०४० सालतिर महतो कैलालीमा राजाको जस्तै जीवन बाँच्नुभएको थियो । पूर्वमा वनवर्षा गाउँ (घोडाघोडी नगरपालिका) देखि पश्चिम भादा गाउँ (धनगढी उपमहानगरपालिका) र कैलारी गाउँपालिकामा पर्ने कोइलही, नम्मीफाँटा, पृथ्वीपुर, लालपुर, बेनौली, हसुलिया, रतनपुर, भुइयाँफाटालगायत कैयौँ गाउँमा देशराजको राज चल्ने गर्‍थ्यो । 

आफूले चाहेको महिलासँग भोगविलास गर्नेदेखि लिएर हात्ती, घोडामा गाउँ डुल्ने कार्य महतोले गर्थे । उनको एउटा हात्ती र दुई घोडा थिए । तीन सय बिघा जमिनका मालिक देशराज खेत हेर्न जाँदा किसानले डोला बनाएर त्यसमा बसाउने र खेतको भ्रमण गराउने गरेको बताइन्छ । 

वृन्दा भवनमा सेन्ट्री पोस्ट बनाएर सुरक्षाकर्मीसमेत राख्नुभएका महतोले त्यसताका ग्रामीण क्षेत्रमा शोषण, अत्याचार गरेको कतिपयको भनाइ छ । कतिसम्म भने, उहाँले राज्य गरेका क्षेत्रमा पर्ने गाउँका कसैले विवाह गरेमा दुलहीले पहिलो रात देशराजसँग बिताउनु परेको पनि स्थानीय सुनाउँछन् । तत्कालीन समयमा महतोसँग उठबस गर्नुभएका रामपुरका ८१ वर्षीय (नाम परिवर्तन) सेवकी थारूले जमिनदार देशराज आफ्नो जीवनकालमा कैलालीका विभिन्न गाउँको राजा बनेर बाँचेको बताए । 

“उहाँ भारतको लखनउ जाने बेलामा चन्दन चौकीबाट पलिया वा दुधुवा पुगिसकेको रेल फर्केर लिन फेरि चन्दन चौकी आउँथ्यो,” थारूले भन्नुभयो, “त्यस बेला देशराजको प्रभाव भारतमा पनि थियो । उहाँलाई लिनका लागि रेल नै फर्केर आउँथ्यो ।”

महतोले वृन्द्रा भवनमै मान्छे थुन्ने कोठासमेत बनाएका थिए । कसैले गल्ती गरेमा उनीहरूलाई आफ्नो भवनमा कैदमा राखेको स्थानीयवासी बताउँछन् । महतोको माइलो छोरा आफ्नो साथी भएका कारण वृन्दा भवनमा पहिले खुब गएको सुनाउँदै रामपुरका पूर्वशिक्षक तिलविक्रम मल्लले उहाँको हैकम आफूले पनि देखेको बताउनुभयो । “मान्छेलाई कुट्ने, पिट्ने गर्थे ,” मल्लले भने । 

२०४५ सालमा महतोको देहान्त भएको थियो । उहाँका पाँच छोरा र पाँच छोरी गरी १० सन्तान थिए । जेठा छोरा सन्तकुमार, माइलो छोरा जितेन्द्र र कान्छो छोरा रेम काठमाडौँ बस्ने गर्थे । काइलो छोरा वीरेन्द्र (विन्दु) धनगढी बसिरहेका छन्  । साइलो छोरा विजयको भने कटैनी नदीमा नुहाउने क्रममा ज्यान गएको थियो । महतोका छोरीहरूले कैलालीमा विवाह गरेकी छिन् ।   

clock आइतबार ११, फागुन २०८१ ०९:३३

प्रतिक्रिया