बाजुरामा विहे भोजमा ‘दाई’ नभनेको झोकमा युवकको हत्या, ३ जना पक्राउ

  शनिबार १०, फागुन २०८१ १३:२७

धनगढी । बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ । थापा बुढिगंगा नगरपालिका–९ का बासिन्दा हुन् ।

थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बुढिगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० दिलिप गिरीले जानकारी दिए ।

उनकाअनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढिगंगा नगरपालिका–८ का सन्तोश खड्काको विहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार विहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरुले दाई भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको थियो ।

थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock शनिबार १०, फागुन २०८१ १३:२७

प्रतिक्रिया