हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्दै, छुटेनन् विपिन जोशी
काठमाडौं । इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नप्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो।
हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी भने अझै रिहा हुने टुंगो लागेको छैन। इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी ६ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मङ्गलबार जनाएको छ।
इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ। गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको छ।
हमासका एक वरिष्ठ अधिकारी तथा मुख्य हमास वार्ताकार खलिल अल–हयाले एक टेलिभिजन सम्बोधनमा चार शव बिहीबार हस्तान्तरण गरिने पुष्टि गरे। उनले प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले छ जना इजरायली बन्धकहरूलाई पनि मुक्त गर्ने बताए। युद्धविराम सम्झौताको मूल शर्तअन्तर्गत, हमासले सयौं प्यालेस्टिनी बन्दीहरूको बदलामा शनिबार तीन जीवित बन्धकहरूलाई र अर्को शनिबार तीन जनालाई रिहा गर्ने थियो।
युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको थियो। पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ। सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीवित अवस्थामा रहेका विश्वास गरिएको छ।
इजरायलको तथ्याङ्कअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया