कैलालीको नवलपुर र लक्ष्मीपुरमा एक घण्टाको फरकमा २ जना मृत भेटिए

  सोमबार ०५, फागुन २०८१ १८:१९

धनगढी । कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका–५ को नवलपुर र घोडाघोडी नगरपालिका–१ को लक्ष्मीपुरमा सोमबार दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक -डीएसपी_ कबिन्द्र सिंह बोहराले घोडाघोडी–१ को लक्ष्मीपुरको बागेश्वरी सामुदायिक वनमा डडेल्धुराको परशुराम नगरपालिका–९ का १८ वर्षीय करन कामी मृत भेटिएको जानकारी दिए ।

उनकाअनुसार कामीको शव दिउँसो ४ बजेतिर घाँटीमा पासो लागेकै अवस्थामा भुँइमा भेटिएको हो । प्रहरीले कामीको पासो चुडिएर भुँइमा शव खसेको हुनसक्ने आशंका गरेको छ । उनी मृत भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।

यस्तै, जानकी गाउँपालिका–१ नवलपुरमा ३० वर्षीय रामबहादुर कठरीया मृत भेटिएको डीएसपी बोहराले बताए । उनी दिउँसो ३ बजे आफ्नै घरमा खटियामा मृत भेटिएका हुन् ।

घटनास्थल कार्य सकेर प्रहरीले कठरीयाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ । दुवै घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

clock सोमबार ०५, फागुन २०८१ १८:१९

प्रतिक्रिया