पुल बनाउन माग गर्दै प्रधानमन्त्रीलाई एक थान चस्मा र एक रुपैयाँ सहयोग

  शुक्रबार ०२, फागुन २०८१ १३:२२

डोटी । तीन बर्षमै निर्माण कार्य सम्पन्न हुनु पर्ने मोटरेवल पुल १० बर्ष ७ महिनामा पनि नवनेपछि स्थानीयबासीहरुले बिरोध स्वरुप सरकारलाई एक थान चस्मा र एक रुपैयाँ सहयोग गरेका छन् ।

शिखर नगरपालिका–१० बानेडुंग्रीसैनस्थित सेती नदीमाथी निर्माण हुन लागेको मोटरेवल पुल निर्माण व्यवसायीले अलपत्र पार्दा स्थानीयबासीहरु मार्कामा परेका छन् । २०७१ साल असार २९ गते पुल निर्माणका लागि सडक डिभिजन कुलपाते, डोटी र निर्माण व्यवसायी कम्पनी पप्पु—राजेन्द्र जेभीबीच सम्झौता भएको थियो ।

उक्त पुलको कार्य २०७४ साल असार २८ गते सम्पन्न भइसक्नु पर्ने थियो । तर हालसम्म पुलको भौतिक प्रगति २४ प्रतिशत मात्रै भएको सडक डिभिजन डोटीले जानकारी दिएको छ ।
यप

निर्माण व्यवसायीले राजनीतिक आडमा पटक पटक ठेक्काको म्याद थप्दै गर्ने तर काम नगर्ने भएपछि शिखर नगरपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका ८ सय ४४ जनाको हस्ताक्षर सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको स्थानीयबासी तथा सञ्चारकर्मी रामहरि ओझाले वताए ।

जिल्ला प्रशासन कार्यालय डोटीमार्फत बुझाईएको उक्त ज्ञापन पत्रसंगै हस्ताक्षरकर्ताहरुले प्रतिव्यक्ति एक रुपैयाँका दरले चन्दा संकलन गरी बुझाएका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले रकम र चस्मा पठाउन आफुलाई समस्या हुने भन्दै ज्ञापन पत्र मात्रै बुझेको ओझाले जानकारी दिए ।

उनले भने ‘प्रमुख जिल्ला अधिकारी जीले चस्मा र रकम आफै कुने माध्यमबाट पठाउनुहोस् भन्नु भयो, त्यसैले भोली बिहान पुरियरमार्फत पठाउदैछौं ।’

“सरकारसंग उक्त पुल निर्माणको लागी बजेट अभाव भएको महसुस गरी हामी स्थानीयबासीहरुले आफ्नो पसिना बगाएर कमाएको रकममध्ये “एक परिवार–एक रुपैयाँ” का दरले ८ सय ४४ परिवारबाट ८ सय ४४ रुपैयाँ संकलन गरी सरकारको कोषमा जम्मा हुने गरी सम्माननीय प्रधानमन्त्री ज्यूलाई पठाएका छौं”

ज्ञापन पत्रमा भनिएको छ ‘उक्त पुलको दुराबस्था र स्थानीयबासीको पीडा सरकारले देख्न नसक्ने भएको रहेछ भन्ने महसुस गरी हामी स्थानीयबासीहरुले सरकारलाई एक थान चस्मा पठाएका छौं ।’

करीव ११ बर्ष अलपत्र पारिएको उक्त पुल छिटो भन्दा छिटो निर्माण हुनु पर्ने माग राख्दै ज्ञापन पत्रमा भनिएको छ ‘उक्त पुल निर्माण कार्य छिटो सम्पन्न गरी हामी स्थानीयवासीहरुको मौलिक हकको संरक्षण गरिदिन हुन बिनम्रताका साथ अनुरोध गदैै यो ज्ञापन पत्र पेश गर्दछौं ।’

बिगतका बर्षहरुझै फेरी पनि पुल निर्माणमा वेवास्ता गरिएका स्थानीयबासीहरु जस्तो सुकै बिद्रोह गर्न सक्ने र सो बिद्रोहबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

पुल निर्माणको कार्य छिटो सम्पन्न गर्न परमादेशको माग गर्दै सञ्चारकर्मी ओझाले २०७९ साल माघ १६ गते उच्च अदालत दिपायलमा रिट निवेदन दायर गरेका थिए ।

उच्च अदालतले २०८० साल जेठ १० गते बिपक्षीहरु सडक डिभिजन र शिखर नगरपालिकाका नाममा यथासक्य चाँडो पुल निर्माण गर्न परमादेश समेत जारी गरेको थियो । तर, अदालतको आदेशको कार्यान्वयन हुने गरी बिपक्षीहरुले कुनै पहल नगरेको स्थानीयबासीहरुको आरोप छ ।

निर्माण व्यवसायी भिमवहादुर साउँद नेपाली कांग्रेस डडेल्धुराका सभापति हुन् । २०७४ सालको स्थानीय तह निर्माणबाट डडेल्धुराको पर्शुराम नगरपालिकाका नगर प्रमुख समेत भएका साउँदलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाका बिश्वास पात्रको रुपमा चिनिन्छ ।

उनले राजनीतिक पहुँचकै आधारमा सुदूरपश्चिका धेरै योजनाहरु अलपत्र पारेको पत्रकार ओझा वताउँछन् ।

clock शुक्रबार ०२, फागुन २०८१ १३:२२

प्रतिक्रिया