धनगढीमा हुने सिप तथा रोजगार मेलाका लागि ४ हजार बढीले दिए आवेदन
धनगढी । धनगढीमा हुने सिप तथा रोजगार मेलाका लागि चार हजार ७२२ जनाले दिए आवेदन भरेका छन्। फागुन ८ गतेदेखि चैत ८ गतेसम्म लाग्ने मेलाका लागि सुदूरपश्चिमका सबै स्थानीय तहबाट युवाहरूले आवेदन भरेका हुन्।
धनगढी उपमहानगरपालिकाले १८ देखि ४० वर्षका युवाहरूलाई स्वरोजगार हुन सहयोग पुगाउन विभिन्न ८ विधामा २९ किसिमका तालिम दिन लागेको हो। यो पटक एक हजार ११२ जनालाई विभिन्न २९ किसिमको तालिम दिन लागिएको हो। केही विधामा न्यून आवेदन परेकाले तालिम लिन इच्छुक युवाहरूलाई फाराम भर्न आग्रह गरिएको छ।
एक महिनासम्म चल्ने तालिमका लागि केही विधामा अत्यधिक आकर्षण देखिएको छ भने केही विधामा न्यून आवेदन परेको धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले बताए। उनले निर्माण विधाको तालिमका लागि कम निवेदन परेको बताए।
‘केही विधामा न्यून आवेदन परे पनि केही विधामा भने निकै धेरै निवेदन परेका छन्। ५० जना आवश्यक रहेको फेसन डिजाइन तालिमका लागि सर्वाधिक ६३० जनाको आवेदन परेको छ। यस्तै, एडभान्स व्युटिसियन तालिमका लागि ५० सिट भए पनि ५८७ जनाको निवेदन परेको छ,’ उनले भने, ’स्वरोजगारको सम्भावना बढीको भएको तालिममा कम आवेदन परेका छन्।’
लेखा व्यवस्थापन तालिमका लागि ४६३ जनाको आवेदन परेको छ। एडभन्स टेलरिङका लागि ४१६ जनाको आवेदन परेकामा कफी वारिस्तामा ३७५ को आवेदन परेको छ। केही विधामा निकै धेरै आवेदन परे पनि केहीमा भने आवश्यकता भन्दा कम सङ्ख्यामा आवेदन परेको रोजगार संयोजक महराले बताए। कम आवेदन आएको विधामा अझै आवेदन बुझाउन सकिने उनले बताए।
यी हुन् कम आवेदन परेका कार्यक्रम
विल्डिङ पेन्टरको तालिमका लागि २५ सिट भए पनि २० जनाको मात्रै आवेदन परेको छ। पुरोहितका लागि २५ जनामा जम्मा २२ जनाको मात्रै आवेदन परेको छ। वेटरमा ५० जनाको सिट छ भने आवेदन केवल ३१ जनाको मात्रै परेको छ। टायल मार्बल फिक्स्चर तालिमका लागि ५० जनाको आवेदन मागिएकोमा ३४ जनाको मात्रै निवेदन परेको छ।
निर्माण क्षेत्रको तालिम लिन कम व्यक्तिको आवेदन परेको उपमहानगरपालिकाले जनाएको छ। तर कम निवेदन परेको विधाका लागि इच्छुक व्यक्तिले माघ २२ गतेपछि समेत निवेदन दिन सक्ने नगरप्रमुख गोपाल हमालले बताए। उनले इच्छुक युवाहरूलाई कम आवेदन परेको तालिमका लागि निवेदन दिन आग्रह गरेका छन्।
तालिमका लागि छनोट भएका युवाहरूलाई एक महिनासम्म निःशुल्क तालिम दिइने छ। तालिम सकिएपछि स्वरोजगार बन्न अभिमुखीकरण तालिमसमेत दिइने छ। तालिम सकिएपछि युवाहरूका लागि दुई दिने रोजगार मेला आयोजना गरिने उपमहानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया