धनगढी–१६ को गौशालामा गोबर प्रशोधन गर्न मसिन जडान
धनगढी । धनगढी–१६ को गौशालामा गोबर प्रशोधन गर्ने मसिन जडान गरिएको छ। बेहडाबाबा मन्दिर नजिकै इस्कोनले व्यवस्थापन गरेको गौशालामा गोबर प्रशोधन मसिन जडान गरिएको हो।
धनगढी उपमहानगरपालिकाले गौशालालाई आत्मनिर्भर हुन सहयोग पुगोस् भनेर गोबर प्रशोधन गर्ने मसिन प्रदान गरेको हो।मसिन जडान भएसँगै गोबर मल बिक्री गर्न सहज हुने भएको छ। मसिनले गोबरलाई प्रशोधन गरेर झोल र ठोस गोबर अलग– अलग गर्नेछ।
अलग भएको गोबरको झोलमा पानी मिसाएर तत्काल खेतीबारीमा मलको रुपमा प्रयोग गर्न सकिनेछ भने सुख्खा गोबरको धुलोलाई तीन महिनापछि कम्पोस्ट मलको रुपमा प्रयोग गर्न सकिने कृषि शाखा प्रमुख समीर ठाकुरले बताए। उनले भने, “ गोबर मल तयार गर्न मसिन जडान गरिएको हो। मसिनको प्रयोगबाट गौशालाले कम्पोस्ट मल तयार गर्ने र बिक्री गरेर आम्दानी गर्न सहज हुन्छ।“
धनगढी उपमहानगरपालिकाले थप दुईवटा गौशालालाई गोबर मल प्रशोधन गर्ने मसिन प्रदान गर्ने भएको छ। पहिलो चरणमा शनिवार इस्कोनले व्यवस्थापन गर्दै आएको गौशालामा मसिन जडान गरिएको हो। गोबर मल प्रशोधन गरेर कम्पोस्ट मल बनाई गौशालाहरूको आम्दानी गर्ने बाटो खुल्ने नगर प्रमुख गोपाल हमालले बताए। उनले प्रशोधन गर्ने मसिन जडान गरिपछि गौशाला गोबर र गोबरको झोल बिक्री गरेर आर्थिक लाभ लिन सक्ने विश्वास गरेका छन्।
धनगढी उपमहानगरपालिकामा नगरपालिकाले तीन ठाउँमा गौशाला चलाएको छ। धनगढी–१६ को गौशाला इस्कोनले व्यवस्थापन गरिरहेको छ भने धनगढी–७ र १८ मा नगरपालिकाले गौशालाको व्यवस्थापन आफैले गरिरहेको छ। यस्तै, धनगढी–३ मा समुदायबाट गौशालाको व्यवस्थापन भइरहेको छ।
सामुदायिक चौपायाको व्यवस्थापन गर्नु स्थानीय सरकारका लागि चुनौतीको विषय बनिरहेको अहिलेको अवस्थामा गौशाला स्थापना गरेर सामुदायिक चौपायाबाट लाभ लिन सक्ने अवस्था निर्माण गर्न धनगढी उपमहानगरपालिकाले प्रयास थालेको भनाइ नगर प्रमुख हमालको छ। उनले कम्पोस्ट मलको रुपमा गोबर र गोबरको झोल बिक्री गरेर गौशालाहरूले आफ्नो खर्च आफै उठाउन सकून भनेर थप प्राविधिक सहयोग गर्ने बताए। धनगढीमा चार गौशालामा करिब १२ सय चौपायाको व्यवस्थापन भइरहेको छ। नगर क्षेत्रमा छोडिएका चौपाया नजिकको गौशालामा राख्ने काम हुँदै आएको छ।
प्रतिक्रिया