रवि लामिछानेको बयान सकियो, तिहारभर हिरासतमै रहने
पोखरा । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ।
गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत लागि ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो।
कात्तिक २ गते पक्राउ गरी ३ गते बिहान पोखरा ल्याइएपछि उनलाई जिल्ला सहकारी वकिलको कार्यालयमा लागि बयान लिने क्रम सुरु भएकोमा बुधबार बयान लिइसकिएको हो।
लामिछानेको बयान बुधबार अबेर जिल्ला न्यायाधीवक्ता कमला काफ्ले र यो प्रकरणका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले प्रमाणित गरेकाछन्।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले लामिछानेको बयान लिने क्रम सकिएको जानकारी दिए। ‘बयान लिने क्रम बुधबार सकियो। अब केही प्रुफ मिलाउने काम बाँकी छ,‘ ओलियाले भने, ‘अबको म्याद थप्ने बेलासम्म यो सबै सक्नैपर्छ नि।’
लामिछानेलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप भएकोमा बुधबार थपिएको म्याद सकिएको छ। बिहीबारबाट तिहार बिदा सुरु भएकाले उनलाई तिहार बिदा सकिएपछि कात्तिक २० गते अदालत उपस्थित गराइने भएके छ।
पोखराको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ।
आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गरेका छन्। गोरखा मिडियामा रकम व्यस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उनले सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने उनले बयान दिएका छन्।
प्रतिक्रिया