कञ्चनपुरको कृष्णपुर नगरपालिका, जहाँ कार्यालय परिसरमै बनाइयो तरकारीबारी
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ। तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ। केही तरकारी क्यारी बनाएर रोपिएका छन्। केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन्। उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन्।
घारमा मौरीपालन गरिएको छ। बारीमा लगाइएका बोटबिरुवामा मल राख्न गड्यौँलापालनको कार्य पनि गरिएको छ। नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन्।
व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउन करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए। पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उनले बताए।
रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई दीर्घकालीन रोग देखापर्न थालेको उल्लेख गर्दै शाखा प्रमुख धामीले जैविक विधिको प्रयोग गरी मल तयार गर्न गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताए। मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ। यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ।
मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिन घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ छ। कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ। बारीको अवलोकन गर्न दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान पुग्ने गरेका छन्। रासस
प्रतिक्रिया