सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय पुरस्कृत

  मङ्गलबार २९, असोज २०८१ १३:२२

धनगढी । प्रहरी प्रधान कार्यालयले कार्य सम्पादन मूल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई पुरस्कृत गरेको छ । ६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिमसहित तीन वटा प्रदेश प्रहरी कार्यालयलाई पुरस्कृत गरेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले प्रहरी व्याटन भनिने अन्तर क्षेत्रीय प्रहरी कार्यालय कार्य दक्षता मूल्यांकन कार्यनिर्देशिकाअनुसार सर्वोत्कृष्ट र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कार्यालयलाई पुरस्कृत गरिएको जानकारी दिए ।

उनकाअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयलाई कार्य सम्पादन मूल्यांकनका आधारमा पुरस्कृत गरिएको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा पुरस्कृत हुने कार्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरिने प्रवक्ता कार्कीले बताए ।

प्रहरी प्रधान कार्यालयकाअनुसार कार्य सम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय पहिलो, सुदूरपश्चिम दोस्रो र कोशी प्रदेश प्रहरी कार्यालय तेस्रो नम्बरमा परेका छन् । यस्तै, कार्यसम्पादन मूल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेशका अन्य तीन वटा प्रहरी कार्यालय तथा चौकी पनि पुरस्कृत भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बेलौरी, कैलालीको प्रहरी चौकी सत्ती र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेललाई पुरस्कृत गरेको बताए ।

उनकाअनुसार यी प्रहरी कार्यालयलाई समेत कार्य सम्पादन मूल्यांकनका आधारमा प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिएको हो ।

clock मङ्गलबार २९, असोज २०८१ १३:२२

प्रतिक्रिया