डडेल्धुरामा जीर्ण पोखरी बहुउपयोगी बनाउन पुनर्निर्माणका लागि बजेट

  बिहिबार २४, असोज २०८१ ०८:२३

डडेलधुरा  । विसं २०२९ मा निर्मित सुदूरपश्चिमको सबैभन्दा बढी करिब २० लाख लिटर क्षमताको सिँचाइ पोखरी फुटेपछि जीर्ण बनेको १५ वर्ष भयो तर मर्मत गर्ने कुनै सुरसार भएन । सङ्घीयतापछि बल्ल थोरै भए पनि बजेट विनियोजन भएपछि यसलाई बहुउपयोगी बनाउने सोच अगाडि सारिएको छ । 

अमरगढी नगरपालिका–७ का करिब एक दर्जन गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी खासै कहिल्यै पनि प्रयोगमा आएन । सुरुमा पोखरी निर्माण भए पनि उद्देश्य अनुसार गाउँगाउँमा योजना विस्तार नै हुन सकेन । उद्देश्य अनुसार रित्तो रहँदा जीर्ण भएको पोखरी पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रुपियाँमा टेन्डर भयो । २०६६ साल असोजमा भएको अविरल वर्षापछि पोखरीमा दरार भई फुट्यो । त्यसयता जीर्ण बनेको पोखरी निर्माणका लागि गत वर्ष पाँच लाख रकम बजेट थियो तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुङ्गो नलाग्दा रकम फिर्ता भयो । चालु आर्थिक वर्षमा भने सुदूरपश्चिम प्रदेशबाट ३० लाख रुपियाँ विनियोजन भएको प्रदेश सभा सदस्य डा. तारा जोशीले जानकारी दिनुभयो । 

बहुउपयोगी पोखरी निर्माण गर्न करिब एक करोड रुपियाँ आवश्यक पर्ने भए पनि पहिलो चरणमा ३० लाख मात्रै विनियोजन भएको उहाँले बताउनुभयो । सिँचाइ मात्रै नभई अब यो पोखरीलाई माछापालन, स्विमिङ र खानेपानी गरेर बहुउपयोगी तौरतरिकाबाट निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । तीनतले पोखरी निर्माण गरेर स्थानीय परम्परागत भाँडावर्तनको आकार र त्यसमाथि माछाको आकार बनाई खानेपानी ट्याङ्की बनाउन प्राविधिकसँग समन्वय भएको उहाँले बताउनुभयो । सबैभन्दा माथि खानेपानी, दोस्रो भागमा पौडी र सबैभन्दा मुनिको ट्याङ्कीमा सिँचाइ र माछापालन गर्न सकिने गरेर पोखरीको निर्माण गरिने उहाँको भनाइ छ ।

बहुउपयोगी तरिकाको पोखरी बनाउन सके आकर्षणको केन्द्रविन्दुसमेत हुन सक्ने उहाँले बताउनुभयो । यसअघि पनि २०६१ सालपछि पोखरीमा माछापालनसँगै पौडी खेल्न ‘कस्टम’ राखेर शुल्क लिने गरिएको थियो भने छेउमा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको स्थानीय गणेश साँकीले बताउनुभयो । बहुउपयोगी पोखरी निर्माण गर्न सके यस क्षेत्रको व्यवसायमा ठुलो टेवा पुग्ने उहाँको विश्वास छ । पोखरीको हालको लम्बाइ ३१।४ मिटर, चौडाइ २४।६ मिटर र उचाइ २।३५ मिटर छ । यो पोखरी डडेलधुरा–बैतडी जोड्ने मुख्य महाकाली राजमार्गसँगै जोडिएको भएकाले अब सडकको मापदण्ड अनुसार १५ मिटर छोड्नुपर्ने छ । अब निर्माण गर्दा वर्गाकारको हुने डिजाइन स्टिमेट गरिरहनुभएका इन्जिनियर श्यामकुमार बाडेले बताउनुभयो । उहाँका अनुसार अब २४।५ मिटर वर्गाकार र उचाइ पुरानै कायम गर्न सकिन्छ । अब यसको क्षमता करिब १४ लाख लिटरको हुने छ । 

clock बिहिबार २४, असोज २०८१ ०८:२३

प्रतिक्रिया