धनगढीमा विद्यालय बन्यो छाडा चौपायाको आश्रयस्थल

  मङ्गलबार ०८, असोज २०८१ ११:०५

धनगढी । बालबालिकाले ज्ञान आर्जन गर्ने थलो छाडा चौपायाको आश्रयस्थल बनेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्कामा रहेको नवज्योति आधारभूत विद्यालय छाडा चौपाया बस्ने थलो बनेको हो ।

विद्यालयमा घेरबार र गेट नहुँदा रातिको समय छाडा चौपाया आएर विद्यालयमा बस्ने गरेका छन् । विद्यालयमा छाडा चौपाया बस्न थालेपछि दैनिक कक्षा सञ्चालनमा समस्या आएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले बताए ।

राति बसेका छाडा चौपायाको गोबर र मूत्र दैनिक रूपमा सफा गरेर मात्रै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने गरेको उनको भनाई छ । विद्यालयमा हरेक रात छाडा चौपाया बस्ने गरेको जनाइएको छ ।

नजिकै रहेको गेटा सामुदायिक वनमा दिनभरि चरेर छाडा चौपाया राति विद्यालयमा आउने गरेको प्रधानाध्यापक भण्डारीले बताए । मान्छेले पनि लखेटेर छाडा चौपायालाई विद्यालयतिरै धपाउने गरेको उनको गुनासो छ । पानी परेका बेला लगभग ८०/९० छाडा चौपाया विद्यालयमा बस्ने गरेको भण्डारीले बताए ।

सो विद्यालयमा आधा घेरबार गरिएको छ । तत्कालीन प्रदेश सभा सदस्य डिल्लीराज पन्तले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तीन वर्ष पाँचरपाँच लाख बजेट दिएपछि आधा घेरबार गरिएको प्रधानाध्यापक भण्डारीले बताए । नवज्योति आधारभूत विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । छाडा चौपाया व्यवस्थापनको नाममा स्थानीय तहले करोडौँ खर्च गरिसके पनि समस्या अझै समाधान हुन सकेको छैन ।

clock मङ्गलबार ०८, असोज २०८१ ११:०५

प्रतिक्रिया