दसैँका लागि हवाई टिकट बुकिङ सुरु, बसको असोज पहिलो हप्तादेखि

  बिहिबार २७, भदौ २०८१ ०७:५५

धनगढी । दसैँ आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन् । बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ । एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका छन् ।

वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । सङ्घका प्रवक्ता मुरारीधर जोशीले दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको बताए ।

अहिले मौज्दात जहाजको र उडान सङ्ख्याका आधारमा दसैँलक्षित कुनै पनि गन्तव्यमा थप उडान गर्नेबारे हवाई कम्पनीबिच छलफल नभएको उनले जानकारी दिए । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले ६० प्रतिशतसम्म बुकिङ भइसकेको र अहिलेलाई घटस्थापना र फूलपाती आसपासका टिकटमा यात्रुको चाप देखिएको बताए । श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले अहिले ८० प्रतिशत जहाज भरिभराउ भएर उडान गरिरहेको र दसैँलक्षित बुकिङसमेत सुरु भएको जानकारी दिए ।

यसैगरी दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि खुला गर्ने तयारी भएको जनाएको छ ।

दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यस पटक पनि समयमै खुला गरी सहज र सुरक्षित यात्रा गराइने महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

clock बिहिबार २७, भदौ २०८१ ०७:५५

प्रतिक्रिया