कैलालीको गोदावरी नगरपालिका प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्दै

  बिहिबार २०, भदौ २०८१ १६:३८

धनगढी । कैलालीको गोदावरी नगरपालिकाले प्लास्टिकको प्रतिबन्धमा कडाइ गर्दै लगेको छ। गोदावरीले नगरपालिका क्षेत्रमा प्लास्टिकका झिल्ली, झोला तथा अन्य बस्तुहरू प्रयोग, बिक्री–वितरणमा कडाइ गर्दै लगेको हो।

प्लास्टिक जन्य बस्तुमा प्रतिबन्ध सम्बन्धी ऐन, २०८० लाई पूर्ण पालना गर्ने नगरपालिकाले बताएको छ। नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य बस्तुको प्रयोगमा रोक लगाइएको सुरुमा एक महिनाको सूचना सार्वजनिक गरिएको थियो। दोस्रो पटक १५ दिनको सूचना सार्वजनिक गरिएको थियो। २०८१ भदौ १७ गतेबाट नियमित बजार अनुगमन थालिएको नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना कुमारी खड्काले बताइन्। 

उनले भनिन्, ‘हामीले तीन दिनदेखि नियमित बजार अनुगमन गर्दै आएका छौ। केही क्षेत्रमा मात्र प्लास्टिकका बस्तुहरू फेला परेका छन्। हामीले अहिले जफत गरेका छैनौ। सुरुमा एक महिना, दोस्रो पटक १५ दिनको सूचना जारी गरेका थियौ। सूचनाका आधारमा समेत व्यापारीहरूले प्लास्टिकका बस्तुहरू प्रयोग गर्न छोड्नु भएको देखियो। अहिले अनुगमन गरेर सम्झाउने काम गर्दै छौ।’

कैलालीको गोदावरी नगरपालिकाले दुई समूहमा बजारको अनुगमन गर्दै आएको छ। प्लास्टिकका बस्तुहरू प्रयोग भए–नभएको र व्यापारिक फर्महरू दर्ता भए–नभएको उनीहरूले अनुगमनका क्रममा हेर्ने गरेका हुन्।आगामी दिनमा पनि निरन्तर रूपमा बजार अनुगमन गर्ने तर्क नगरपालिकाको रहेको छ। प्रतिबन्धीत प्लास्टिकका बस्तुहरू फेला परेमा जफत गर्ने र प्रयोग गर्नेलाई कारबाहीसमेत गर्ने तयारी गरिएको हो। 

नगरपालिकाको समूहले ४० माइक्रोन भन्दा कमका झोलाहरू, डिस्पोजेबल वस्तुहरू जस्तै कप, थाल, गिलास, कचौरा, चम्चा, आदि, रेस्टुरेन्ट, होटेलहरूमा खानाको प्याकिङका लागि प्रयोग गरिने प्लास्टिकका सामानहरू लगाएतमा प्रतिबन्ध लगाइएको छ। नगरपालिकाले प्लास्टिकको ठाउँमा कपडा तथा अन्य बस्तुको प्रयोग गर्न भनेको छ। ठुला प्लास्टिकका व्यापारीहरूलाई समेत नगरपालिकाले सोही सुझाव दिएको खड्काले बताइन्।

clock बिहिबार २०, भदौ २०८१ १६:३८

प्रतिक्रिया