बाजुराको गुइगाड खोलाको पुल हस्तान्तरण नहुँदै जीर्ण

  सोमबार ०३, भदौ २०८१ १३:३२

बाजुरा । बाजुराको गुइगाड खोलामाथिको पुल जीर्ण बनेको छ । साँफे–मार्तडी सडकखण्डमा पर्ने उक्त पुल हस्तान्तरण नहुँदै जीर्ण बनेको हो । उक्त पुल १४ अघि निर्माण सुरु गरिएको थियो । अलिहे ट्रसले बनेको उक्त जीर्ण पुलमाथि नै जोखिम मोल्दै यातायात सञ्चालन भइरहेका छन ।

पुल जोखिमपूर्ण भएपछि सडक डिभिजन कार्यालय साँफेबगर अछामले ‘एक पटकमा एउटा मात्र गाडी’ भनेर होडिङ बोर्ड राखेको छ ।

२०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । कम्पनीले ५ करोड ९६ लाख १ सय १२ रुपैयाँ ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो ।

निर्माणको जिम्मा पाएको कम्पनीले तोकिएको समयमा काम नसकेपछि २०७१ असार मसान्तसम्म म्याद थपिएको थियो । थप गरिएको समयमा समेत निर्माण कम्पनीले काम नसकेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले बताएको छ ।

सडक डिभिजन कार्यालय साफेबगर अछामका प्रमुख रमेश चौधरीले निर्माण कम्पनीले अझै काम पूरा नगरेको बताए । आफू्ले निर्माण कम्पनीलाई पुलको आवश्यक मर्मत गरेर हस्तान्तण गर्न धेरै पटक पत्राचार गरेको भएपनि अटेर गरेको सुनाए । सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ ।

clock सोमबार ०३, भदौ २०८१ १३:३२

प्रतिक्रिया