असार अन्तिममा लम्की चुहाले ल्यायो १ अर्ब १० करोड ६६ लाखको बजेट

  बुधबार २६, असार २०८१ ०६:०४

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ । नगरप्रमुख सुशिला कुमारी शाहीको अध्यक्षतामा मंगलबार बसेको नगर सभाको १३ औँ अधिवेशनमा नगर उपप्रमुख जुना कुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उपप्रमुख चौधरीले चालूतर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगततर्फ ४० करोड २६ लाख ४० हजार गरी कुल १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

लम्कीचुहा नगरपालिकाको बजेट १५ दिन ढिला आएको हो । कानुनी प्रावधान अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने व्यवस्था छ । तर नगर प्रमुख शाही बजेट ल्याउने बेला वैदेशिक भ्रमणको क्रममा डेनमार्क गएपछि बजेट ल्याउन सकिएको थिएन ।

नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने जेठ २१ गते नै पारित भएको थियो । तर बजेट आउन नसकेपछि नगरप्रमुख शाहीको आलोचना भएको थियो । नगरपालिकाको बजेट कार्यक्रम भन्दा उनको प्राथमिकतामा भ्रमण परेको भन्दै आलोचना भएको हो ।

clock बुधबार २६, असार २०८१ ०६:०४

प्रतिक्रिया