मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द

  आइतबार २३, असार २०८१ ११:०५

बाजुरा । बाजुरा जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी दिए । 

वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् । कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछि आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ ।

मार्तडी–कोल्टी सडक वर्षायाममा प्रायः अवरुद्ध हुने गरेको छ । साँफे–मार्तडी राजमार्ग अवरुद्ध लगातारको वर्षाका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । 

वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीले जानकारी दिए । राजमार्गको सेराबगर, हड्डेखोला र जिल्ला कारागार नजिकै पहिरो गएको छ ।

राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन र मालवाहक गाडी बाटोमै थन्किएका छन् । राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर र नेपालगञ्जबाट आएका बस बाटोमै रोकिएका छन् । पहिरो हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

clock आइतबार २३, असार २०८१ ११:०५

प्रतिक्रिया