धनगढीसँग कञ्चनपुरको राजघाटलाई जोड्न मोहनामा झोलुङ्गे पुल निर्माण सुरु

  शुक्रबार ३२, जेठ २०८१ १७:३९

धनगढी । कैलालीको धनगढीसँग कञ्चनपुरको राजघाटलाई जोड्न मोहना नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मल्लो राजघाटमा शुक्रवार झोलुङ्गे पुलको शिलान्यास गरिएको हो।

कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले झोलुङ्गे पुलको शिलान्यास गरेकी हुन। उनले पूजा गरेर पुल निर्माणको सुरुवात गरेकी छन्। कृष्णपुर नगरपालिकाले एक करोड नौ लाख ४४ हजार तीन सय ५७ रुपैयाँको लागतमा पुल निर्माण गर्न थालेको हो। 

एक सय १९ दशमलव ८० मिटर लामो पुल निर्माणका लागि २०८० जेठ १ गते सम्झौता भएको थियो। २०८३ जेठ १ गते भित्र पुल निर्माणको काम पूरा गर्नुपर्ने छ। झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ८५ लाख ७८ हजार एक सय ५७, कृष्णपुर नगरपालिकाको १४ लाख २२ हजार सात सय ६६ र समुदायको २ लाख १८ हजार आठ सय ८७ रुपैयाँ लागतको दायित्व रहेको छ।

नगर प्रमुख हेमराज ओझाले राजघाटका किसानलाई धनगढीमा तरकारी बिक्री गर्न, औषधी–उपचार गर्न, दैनिक रोजगारीका लागि धनगढीसम्म आउन झोलुङ्गे पुल निर्माण थालेको बताए। उनले राजघाटलाई धनगढीसँग जोड्न पक्की पुल र अन्य क्षेत्रमा झोलुङ्गे पुल भएपनि धनगढीको राजपुर क्षेत्रको मोहना नदीमा पुल नभएकाले समस्या हुने गरेको बताए। उक्त क्षेत्रमा पनि पुल निर्माणको काम थालिएको हो।

धनगढीको राजपुर क्षेत्रको मोहना नदीमा हिउँदको समयमा काठको पुल निर्माण गर्ने गरिएको छ। तर, बर्खाको समयमा काठको पुल मोहना नदीको बाढीले बगाउने गरेको छ। पुलमा मानिसका लागि पाँच रुपैयाँ, साइकलका लागि १० रुपैयाँ र मोटरसाइकलका लागि २५ रुपैयाँ एक पटक ओहोर दोहोर गरेको लिने गरिएको छ।

clock शुक्रबार ३२, जेठ २०८१ १७:३९

प्रतिक्रिया