भाग्न नसक्दा हिउँसँगै बिलाए ५ जना, ‘भाग्य’ले बाँचे १९ जना
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको गाँगाबगरबाट उत्तरतर्फ देखिन्छ भोलिन डाँडा। हिमाल फेदको भोलिन डाँडा घामले टल्किरहेको थियो। सिमसम पानी पनि परिरहेको थियो।
भोलिनमा दैनिकजसो ससाना हिमपहिरो गइरहन्छ। मंगलबार दिउँसो गएको हिमपहिरोमा यार्सा संकलनका लागि गएका पाँचजना पुरिए। ‘विगतका वर्ष अहिलेसम्म हिउँ पग्लिसक्थ्यो, वैशाखमा हिमपहिरो जाँदैनथ्यो’, यार्सा संकलनका लागि पुगेका सनम थापाले भने, ‘बेमौसमी हिमपहिरोमा पाँचजना बिलाए।’
भोलिन डाँडाको पहिरो गएको क्षेत्रमा यार्सा संकलन गर्ने २४र२५ जनाको समूह थियो। तीमध्ये १९ जना ‘भाग्य’ले बाँचेका छन्। कोही ओढारमा बसेकाले बाँचे, कोही दाउरा खोज्न गएकाले हिमपहिरोबाट जोगिए। १३ जना यार्सा संकलक मंगलबार मात्रै भोलिन डाँडा क्षेत्रमा पुगेका थिए।
‘उनीहरू ओढारमा बसेकाले बाँचे, त्रिपालमुनि बसेका सातजनामध्ये दुईजनाले भागेर ज्यान जोगाए’, उनले भने, ‘पाँचजना भाग्न नसक्दा पहिरोमा पुरिए।’ उनका अनुसार ४ जना भने हिमपहिरो गएका बेला संकलन गर्न गएकाले बाँचे।
भोलिन डाँडा क्षेत्रमा ४ फिटभन्दा बढी हिउँ परेको थियो। हिमपहिरो माथिबाट ५/६ किलोमिटर तल नाम्पा खोलासम्म पुगेको छ।
छोरा फर्किए, आमा फर्किनन्
भोलिन डाँडामा लगातार हिमपात भइरहेको छ। कठ्याङ्ग्रिदो चिसो छ। त्यहीबीच सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘रेस्क्यु अप्रेसन’ चलायो।  हिमपहिरोमा बेपत्ता पाँचमध्ये तीनजनाका शव भिरमा भेटिए। अप्ठ्यारो भिरमा अड्किएका शव सुरक्षाकर्मीले तल झारे।
सनाखत भएका तीन शव सशस्त्र प्रहरीले परिवारको जिम्मा लगाएको छ। डाँडा तल सानो ओढारमा हिमपहिरोबाट जोगिएका केही मानिस आगो तापेर बसेका छन्। शव कुरेर बसेका छन्, उनीहरू।
उनीहरूले बेपत्ताहरू सकुशल मिल्ने आशा मारिसकेका छन्। त्यही बीचमा छन डाेटीको जोरायल गाउँपालिका–२ बुडरका फुर्बा थापा पनि। उनकी आमा नक्नी डोल्माको बुधबार शव भेटिएको छ।
फुर्बा केही दिनअघि मात्रै आमासँग यार्सा टिप्न त्यहाँ पुगेका थिए। ‘आमा र अरु केही त्रिपालमुनि बसिरहेका थिए, हामी खाना पकाउनका लागि दाउरा लिन गएका थियौँ’, फुर्बाले भने, ‘एक्कासि माथिबाट आएको पहिरोले सबै लग्यो।’
सँगै यार्सा टिप्न गएका फुर्बा आमा पहिरोमा बिलाएपछि विक्षिप्त छन्। बर्सेनि यार्सा टिप्न जाने उनीहरू यसबाट घरखर्च चलाउँथे। फुर्बाको घरमा छोरी छन्।
आमाछोरा बिलाए
दार्चुलाको दुहुँ गाउँपालिका–४ धारीका १८ वर्षीय प्रवीण कुँवर यस वर्ष एसईई परीक्षा दिएका थिए। परीक्षापछि फुर्सदिला बनेका उनी आमा कमलासँग यार्सा टिप्न गए। 
आर्थिक अवस्था कमजोर भएका उनीहरू यार्साबाट घरखर्च चलाउँथे। उनीहरू दुवैजनाले हिमपहिरोमा ज्यान गुमाए। प्रवीणका बुवा रोजगारीको सिलसिलामा विदेशमा छन्।
‘हिमपहिरोको घटनाले गाउँ शोकमा डुबेको छ’, दुहुँ गाउँपालिका–४ का अध्यक्ष कृष्णसिंह लोथ्यालले भने, ‘आमाछोराले नै घटनामा ज्यान गुमाए।’
बेपत्ता पाँचजनामध्ये तीनजनाको शव घटनास्थलबाट अढाई किलोमिटर तल भिरमा शव भेटिएको हो। बेपत्ता डोटीको जोरायल गाउँपालिका–२ बुडरका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै अज्ञात छ।
छाङरुको गाँगाबगरस्थित सशस्त्र प्रहरी ५० नं गुल्मका डीएसपी ईश्वरदत्त भट्टको नेतृत्वमा सशस्त्रको २१ जनाको टोली र सीतापुल प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंह नेतृत्वको ५ जनाको टोली खोजीमा खटिएको छ। सो टोलीले आज पनि बेपत्ताहरूको खोजी जारी राख्ने जनाएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया