१० वर्षदेखि अलपत्र बानेडुंग्रीसैन मोटरेवल पुल: छिट्टै काम सक्ने निर्माण व्यवसायीको प्रतिवद्धता

  मङ्गलबार २२, फागुन २०८० ०९:५७

डोटी । झण्डै १० वर्षदेखि निर्माण कार्य अलपत्र परेको बानेडुंगीसैन मोटरेवल पुल निर्माण छिट्टै सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।

सडक डिभिजन कुलपातेले दिएको जानकारी अनुसार फागुन ११ गते सडक बिभागका महानिर्देशक र निर्माण व्यवसायी कम्पनी पप्पु÷राजेन्द्र जेवीका सञ्चालक भिमबहादुर साउँदबीच भएको छलफलमा साउँदले उक्त प्रतिवद्धता जनाएका हुन् ।

‘सो छलफलमा पुल निर्माण कार्यको हालसम्मको प्रगतिको बिषयमा जानकारी गराउनुका साथै पुल निर्माणको कार्य छिटो सक्ने गरी सहमति भएको छ’ सडक डिभिजन कुलपातेका सूचना अधिकारी रामचन्द्र जैशीले भने ‘निर्माण व्यवसायीले काम छिट्टै गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’

छलफलमा पुल निर्माण कार्य सम्पन्न गर्ने मासिक कार्ययोजना निर्माण व्यवसायीले सडक डिभिजनमा पेश गर्ने र सो अनुसार काम भए नभएको डिभिजनले प्रगति बिश्लेषण गर्ने सहमति भएको समेत जैशीले बताए ।

‘कार्ययोजना अनुसारको प्रगति हासिल भएको नदेखिएमा ठेक्का सम्झौताको प्रावधान तथा सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरीद नियमावली, २०६४ मा भएको व्यवस्था बमोजिम ठेक्का अन्त्य सम्वन्धी कारवाही प्रक्रिया अगाडि बढाईने सम्वन्धमा निर्माण व्यवसायीलाई जानकारी गराईएको छ’ सूचना अधिकारी जैशीले थपे ‘यसपछि पनि यदि लापरवाही भएमा ठेक्का सम्झौता रद्द गरिन्छ ।’

उनले निर्माण व्यवसायी कम्पनीको ठेक्का म्याद थप नहुने तर उनले ढिलो गरे वापत हर्जाना तिरेर काम गर्ने गरी सहमति भएको वताए । उनी थप्छन् ‘सरकारले सार्वजनिक खरीद नियमावली संसोधन गरी म्याद थप गर्नु पर्ने बनायो भने म्याद थप पनि होला तर अहिलेकै अवस्थामा म्याद थप हुँदैन । उहाँले १० प्रतिशत हर्जाना तिरेर काम गर्न पाउनु हुन्छ ।’ उनी अब निर्माण व्यवसायीले काम गर्ने आश गर्छन् ।

डोटीको शिखर नगरपालिका–१० र ११ जोड्ने गरी २०७१ सालमा निर्माण कार्य सुरु भएको यो पुल २०७४ साल असारभित्र निर्माण भईसक्नु पर्ने थियो । निर्माण व्यवयासीको लापरवाहीका कारण हालसम्म यस पुलमा २० प्रतिशत मात्रै काम भएको छ । राजनीतिक पहुँचका आधारमा पाँच पटक ठेक्का म्याद थप गर्दै आएका निर्माण व्यवसायी साउँदले काम भने अगाडि बढाएनन् ।

पुल निर्माणको कार्य छिटो सम्पन्न गर्न परमादेश माग गर्दै शिखर नगरपालिका–११ का रामहरि ओझाले नेपाल सरकार मन्त्रीपरिषद्को कार्यालय, सडक डिभिजन कुलपाते, शिखर नगरपालिका र निर्माण व्यवसायी कम्पनी पप्पुरराजेन्द्र जेवीलाई बिपक्षी बनाई २०७९ साल माघ १६ गते उच्च अदालत दिपायलमा सार्वजनिक सरोकारको रिट निवेदन दर्ता गरेका थिए ।

सो माग उपर रिट जारी गर्दै गत जेठ १० गते उच्च अदालतले पुल यथासक्य छिटो निर्माण गर्न सडक डिभिजन कुलपाते र पुल निर्माणका लागि समन्वय र सहकार्य गर्न शिखर नगरपालिका डोटीको नाममा आदेश गरेको थियो ।

clock मङ्गलबार २२, फागुन २०८० ०९:५७

प्रतिक्रिया