कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो, पानी अभावले निभाउन मुस्किल
कञ्चनपुर । कञ्चनपुरको चुरेक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि चुरेक्षेत्रमा लागेको डढेलो अझै नियन्त्रण बाहिर छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले भौगोलिक विकटताका कारण चुरेक्षेत्रको डढेलो नियन्त्रण गर्न नसकिएको जानकारी दिए । “विभिन्न क्षेत्रमा गरी एक सय दश हेक्टरमा डढेलो निभाइसकेका छौँ ।”
उनले भने,–“चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्न चुनौतीपूर्ण छ जान सकिने अवस्था छैन ।” चुरेमा दुई÷तीन घण्टा पैदल जानुपर्ने र त्यहाँ पानीको समेत अभाव भएकाले डढेलो निकै चुनौतीपूर्ण रहेको अवस्थीले बताउनुभयो ।
“आमी डढेलो नियन्त्रण गर्ने प्रयासमै छौँ ।” उनले भने, “चुरे क्षेत्रको करिब ५० हेक्टरमा डढेलो लागेको छ ।” डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा अहिले डढेलो छ ।
यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिकाको उत्तरी क्षेत्र, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आइसकेको छ । डढेलोका कारण हालसम्म एक सय १० हेक्टर वनक्षेत्रमा असर परेको छ ।
प्रतिक्रिया