नक्कली टिकट प्रकरणः महासचिवसहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी

  शुक्रबार १९, माघ २०८० ०६:१९

धनगढी । सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट विक्री गरेको आरोपमा थप चार जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पालका अनुसार थप चार जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितको टोलीले बुधवार महासचिव शंकर बोहरासहित चार जना विरुद्ध किटानी जाहेरी दिएका थिए। एसपी पालका अनुसार उनीहरु विरुद्ध किटानी जाहेरी परेको हो।

प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रीको आरोपमा अहिलेसम्म ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तर, प्रहरीले एक जनालाई समेत पक्राउ गर्न सकेको छैन्। कैलालीको अत्तरियामा लागेको प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री गरेको भन्दै ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने अत्तरिया उद्योग वाणिज्य संघका शंकर खड्का र ठेलीमा छाप लगाउने दुई केटीका विरुद्धमा समेत पक्राउ पुर्जी जारी भएको हो।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ। 
महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको थियो।

उद्योग वाणिज्य संघले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुलाई टिकट विक्रीको जिम्मा दिएको थियो। प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान गरिएको फेला परेको छ। दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रतिटिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो।

रेडक्रसले समेत एक रुपैयाँ पाउने सम्झौता भएको थियो। तर, उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो। २ ठेली पूर्ण विक्री भएको, एकबाट १७ वटा, अर्कोबाट १३ र अर्कोबाट ६ वटा टिकट बिक्री भएको अवस्थामा आयोजकले टिकटका ठेली नियन्त्रणमा लिएको थियो। जसमध्ये एक सय ३६ वटा नक्कली टिकट महोत्सवमा बिक्री भएका थिए।

clock शुक्रबार १९, माघ २०८० ०६:१९

प्रतिक्रिया