प्रधानमन्त्रीकप महिला क्रिकेट: मधेसलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

६ माघ २०७९, शुक्रवार

काठमाडौं, ६ माघ । प्रधानमन्त्रीकप महिला टी-२० क्रिकेटमा मधेस प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको छ। इटहरीस्थित जनता पार्क क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले १‍१४ रनको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा १८० रन बनाउँदै सुदूरपश्चिमलाई जितका लागि विशाल लक्ष्य दिएको थियो। उसका लागि कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १२८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गर्दै टिमालई उच्च स्कोरमा पुर्‍याएका थिए। जवाफमा मधेस २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो।

सुदूरपश्चिमका लागि कविता कुँवर र बिन्दु रावलले अर्धशतक बनाउन सफल भए। कुँवरले ५४ बलमा १२ चौका तथा १ छक्काको सहयोगमा ७० रन बनाउँदा कप्तान बिन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाइन्। त्यस्तै, कविता जोशीले ३२ रन बनाएकी थिइन्।

१८१ रनको लक्ष्य पछ्याएको मधेसका लागि प्रतिमा शाहको १९ रन सर्वाधिक रह्यो। त्यस्तै सीमा कुँवरले १६ रन बनाउँदा अलिशा यादव १४ रनमा आउट भएकी थिइन्। उसका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान २/२ विकेट लिएका थिए।

कविता कुँवर, रितु कनौजिया र स्नेहा महराले समान १/१ विकेट हात पारेका थिए। अब सुदूरपश्चिमले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्ने छ। दोस्रो सेमिफाइनलमा प्रदेश १ र नेपाल एपिएफ क्लबका बीचमा खेल हुँदै छ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउने छन्।

Share This:
No News Were Available