सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

  आइतबार ०५, चैत २०७९ १२:३०     विश्वास खबर

काठमाण्डौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए ।

उनले अघि भने, ‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेस सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।’ यसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ ।

डा. महतका अनुसार सरकारमा सहभागिता भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र हुनेछ । आइतबारको बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ । प्रवक्ता महतले भने, ‘यही मापदण्डका आधारमा नेतृत्वले सबैको सुझाव सल्लाह लिएर ककसलाई पठाउने भन्ने निर्णय गर्नेछ ।’

clock आइतबार ०५, चैत २०७९ १२:३०     विश्वास खबर

प्रतिक्रिया