सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै

तीन वर्षमा भएका १ हजार २ सय ४६ सवारी दुर्घटनामा ५ सय तीनको ज्यान गयो

  आइतबार ०५, चैत २०७९ १२:२२     विश्वास खबर

सुदूरपश्चिम,५ चैत । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ ।  यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन । 

गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको देखिएको छ । उक्त सवारी दुर्घटनामा परेर यहाँ पाँच सय तीनको ज्यान गएको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  

सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल  छन् । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै यहाँ एक सय ८७ सवारी दुर्घटना भएकामा एक सय २१ जनाले ज्यान गुमाएका छन् । यो आवमा  एक सय ४६ गम्भीर र एक सय ५७ सामान्य गरी तीन सय तीन जना घाइते भएका छन् ।

यस्तै  गत आव २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका छन् । आव २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको छ ।  यी दुई वर्षमा पनि सवारी दुर्घटनामा परेर सयौँ जना अङ्गभङ्ग भएका छन् । 

 दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक  नेत्रमणि गिरीले  बताए । सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन् ।

मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारीचालक तथा सवारीधनीले प्रहरीलाई छलेर भए पनि क्षमताभन्दा बढी भार बोक्नुलगायतले सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।

मादक पदार्थ  सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारीचालक र सवारीधनीले जनावरदेखि खाद्यान्नसम्म बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जाँदा बढी दुर्घटना भइरहेको छ । यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् ।

जस्तै चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपु¥याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी–पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको  ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, टाइमकार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेला–बेलामा सचेत गराउने कार्य गरेको छ । रासस  

clock आइतबार ०५, चैत २०७९ १२:२२     विश्वास खबर

प्रतिक्रिया