टीकापुर पार्कमा एकै दीन १० हजार ६ सय पर्यटक गरे अवलोकन

  आइतबार ०३, मङि्सर २०८० १३:४१

धनगढी । कैलालीस्थित टीकापुर पार्कमा शनिवार मात्र १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिवार एकै दिन टीकापुर पर्कमा १० हजार ६ सय पर्यटकले अवलोकन गरेका हुन्।

दसैँ र तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक टीकापुर पार्कमा बढेका छन। शनिवार पर्यटकबाट तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ। पार्कमा यही मङ्सिर १ गते एक लाख राजस्व सङ्कलन भएको थियो। पार्कमा दसैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ।

पर्यटकहरू पार्कमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन्। थरीथरीका व्यक्ति, थरीथरीका पोसाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ। 

पार्कका इन्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिवार भित्रिएका बताए। इन्चार्ज कुँवर पार्क किनारमा रहेको कर्णाली नदीर्मा राफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेका बताउछन्।

टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ। पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ। बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ। 

पार्कभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य पार्क लगायतका संरचना अवलोकन गर्नेहरू पनि त्यत्तिकै छन्। शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी९बेमौसमी फूलसँग उद्यानमा आउने पर्यटक रमाउने गरेका छन्।

clock आइतबार ०३, मङि्सर २०८० १३:४१

प्रतिक्रिया