भूकम्प प्रभावितका लागि राहत दिन हिड्यो धनगढीबाट जनप्रतिनिधिको टोली

  बिहिबार २३, कार्तिक २०८० १०:२४

धनगढी । धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको टोली भूकम्प प्रभावितका लागि राहत सामाग्रि लिएर कर्णाली प्रदेश गएको छ। नगरउपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा कार्यपालिका सदस्यहरूको टोली विहिबार भूकम्प प्रभावितका लागि राहत सामाग्री बोकेर कर्णाली गएको हो।

कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण जनधनको क्षति भोग्नुपरेकाहरुका लागि उपमहानगरपालिकाले ६ लाख ३५ हजार रुपैयाँ बराबरको एक सय क्वीन्टल चामल पठाएको हो। 

२८ औं कार्यपालिका बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावितका लागि राहत सामाग्रि पठाउने निर्णय गरेको थियो। सोही बैठकले भूकम्पबाट ज्यान गुमाएकाहरुको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। एक मनिेट मौन धारण गर्दै बैठकले निधन भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरेको थियो।

विहिबार विहान नगरप्रमुख गोपाल हमालले कर्णाली प्रदेशको राजधानी सुर्खेतका लागि गएको टोलीलाई राहत सामाग्रिसहित विदाई गरेका थिए। उपप्रमुखसहितको टोलीले सुर्खेत पुगेर कर्णाली प्रदेश सरकारलाई चामल हस्तान्तरण गरेर फर्कने छ।

उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख दीपक भण्डारीले भूकम्प प्रभावितहरुलाई राहत दिन बनाइएको सरकारी एकद्धार प्रणालीमार्फत उक्त खाद्यन्न वितरणका लागि पठाइएको बताए।

clock बिहिबार २३, कार्तिक २०८० १०:२४

प्रतिक्रिया