भारतीय राजदूतावासले बैतडी र मुस्ताङमा बर्थिङ सेन्टर बनाउन सम्झौता

  बुधबार २२, कार्तिक २०८० १०:१२

काठमाडौँ । भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बैतडीमा एउटा र मुस्ताङमा दुई वटा बर्थिङ सेन्टर बनाउने सहमति भएको छ । त्रिवि शिक्षण अस्पतालमा सञ्चालित ‘मंगलादेवी बर्थिङ सेन्टर’ को पनि मंगलबार औपचारिक रूपमा उद्घाटन भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतले सञ्चालन गरेका साना परियोजना प्रभावकारी र चाँडो सम्पन्न भएको बताए । ‘कोभिडका बेला अन्य व्यवसायी नहुँदा प्रायः सबैले जग्गामा लगानी गरे । अहिले पहिला जस्तो जग्गाको भाउ बढ्न सकेन । उत्पादनमूलक क्षेत्रमा लगानी कम भएकाले यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ,’ उनले भने, ‘अहिले रेमिट्यान्स र विदेशी पर्यटक बिस्तारै बढ्दै गएकाले निकट भविष्यमा अर्थतन्त्रमा सुधार हुनेछ ।’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सबै प्रदेशमा बर्थिङ सेन्टर स्थापना गर्नुपर्ने बताइन् । ‘यसले बाल मृत्युदर घटाउन मद्दत गर्छ,’ उनले भनिन् । भारतीय राजदूत नवीन श्रीवास्तवले बर्थिङ सेन्टर चाँडै बनाउन अर्थमन्त्रीका तर्फबाट सहयोग हुने विश्वास व्यक्त गरे । 

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले बच्चा, आमा र परिवारका लागि बर्थिङ सेन्टर अत्यन्त महत्त्वपूर्ण रहेको बताए । ‘कोभिडजस्ता विपद्का बेला झन् यसको भूमिका रहन्छ,’ उनले भने । मंगलादेवी स्वर्गीय नेता गणेशमान सिंहकी धर्मपत्नी हुन् ।

clock बुधबार २२, कार्तिक २०८० १०:१२

प्रतिक्रिया