गड्डाचौकी नाका भएर ८ सय ८७ पर्यटक सुदूरपश्चिम भित्रिए

  सोमबार २०, कार्तिक २०८० १५:४८

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ। अक्टोबर महिनासम्म ८ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए। गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन्। कोरोनाको सङ्क्रमण घटदै गएसँगै आवतजावतका लागि वातावरण सहज भएपछि विदेशी पर्यटक आउने क्रम बढेको हो।

भारतबाट स्थलमार्ग हुदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य ९युके०, संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन्। गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन्।

गत जनवरीमा ३१, फ्रवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ पर्यटक भित्रिएका थिए। यसैगरी सन् २०२० मा ६ सय २० र सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए। सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य देखिएको छ।

भारत सरकारले निश्चित नाकाहरुबाट मात्रै पर्यटक बाहिरिने अनुमति दिएपछि सो नाकाबाट बाहिरिने पर्यटकको संख्या शून्य देखिएको हो। नेपाली नागरिकसँग बैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुःल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई छ।

त्यस्तै पर्यटकले तोकेको समय अवधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुःल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको सूचना अधिकारी भट्टले बताए। उनका अनुसार वैवाहिक भिसाको म्याद थप्ने विदेशीहरुको सङ्ख्या केही वर्षदेखि बढ्दो छ। –रासस

clock सोमबार २०, कार्तिक २०८० १५:४८

प्रतिक्रिया