डडेल्धुरा सदरमुकाममा आजदेखि अमरगढी नगरपालिकाको डोजर चल्ने

  सोमबार २०, कार्तिक २०८० ०९:४२

डडेल्धुरा । डडेल्धुरा सदरमुकामका घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले आजदेखि डोजर चलाउने भएको छ। 

सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएका कारण आजदेखि सडकको क्षेत्राधिकार खाली गर्न नगरपालिकाले डोजर चलाउने भएको हो।

त्यसका लागि अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीलाई संयोजक तोकिएको नगरपालिकाले जनाएको छ। आजदेखि बसपार्कबाट सडक क्षेत्र खाली गर्न सुरु गरिने बताइएको छ।

अमरगढी नगरपालिकाले वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएको भन्दै अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरिएको थियो। १३ गते जारी सूचनामा ७ दिनभित्र संरचना हटाउन आग्रह गरिएको थियो। उक्त सूचनाको अवधि आइतबार सकिएको कारण आजदेखि डोजर चलाउने तयारी भएको हो।

सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ। सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ।

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका १०६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो। दोस्रो चरणमा २८४ जनालाई पनि मुआब्जा वितरण गरिएको छ।

clock सोमबार २०, कार्तिक २०८० ०९:४२

प्रतिक्रिया