जाजरकोटका भूकम्प पीडितलाई डोटीका दुई स्थानीय तहको आर्थिक सहयोग

  आइतबार १९, कार्तिक २०८० १२:४५

डोटी । डोटी जिल्लाका सायल र बोगटान फुड्सिल गाउँपालिकाले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पीडित भएकालाई दुई÷दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । 

डोटीको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिए अनुसार जाजरकोट र रुकुम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा तत्काल सद्भाव स्वरूपमा एक एक लाख रुपियाँ जम्मा गर्ने जनाइएको छ । 

बोगटान फुड्सिल गाउँपालिकाद्वारा प्रकाशित विज्ञप्ति अनुसार  भूकम्पका कारण अति प्रभावित कर्णाली प्रदेशका जाजरकोट र रुकुम जिल्ला विपद् व्यवस्थापन समिति को खातामा तत्कालै एक एक लाख रुपियाँ गरी दुई लाख रुपियाँ उपलब्ध गराउने उल्लेख गरिएको छ । 

डोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘दुःखको समयमा पालिकाबाट सद्भाव स्वरूप तत्कालीन रुपमा राहत उपलब्ध गराइएको र भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न र भूकम्पमा परी पुरिएकाहरूको खोज उद्धार तथा घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियका साथ लाग्न सबैसँग अपिल गर्दछौँ ’ भनी उल्लेख छ ।

clock आइतबार १९, कार्तिक २०८० १२:४५

प्रतिक्रिया