भूकम्पले बैतडीमा एक घर भत्किँदा ३ जना घाइते

  शनिबार १८, कार्तिक २०८० १०:०४

बैतडी । गएराति जाजरकोट केन्द्रबिन्दु बनाइ गएको भूकम्पका कारण बैतडीमा एक घर भत्किँदा ३ जना घाइते भएका छन्।

दोगडाकेदार गाउँपालिका १ रीम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किँदा कार्की सहित उनकी श्रीमती ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

घरको पर्खाल भत्किँदा उनको गोठमा बाँधेका एक गाई, एक भैंसी र बाख्रा पनि घाइते भएका छन्। भूकम्पका कारण कार्कीको चारकोठे २ तले कच्ची घरको पर्खाल भत्किएको हो।

रातिको समयमा पर्खाल भत्किएपछि उनीहरू च्याँपिएका थिए। स्थानीयवासिन्दाको सहयोगमा उनीहरूको उद्धार गरिएको कर्णबहादुरका भाइ नरेश कार्कीले बताए।

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएको छ। कार्कीको परिवारलाई अहिले अर्को घरमा सारिएको छ।

गए राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा हालसम्म १५४ जनाको मृत्यु भइसकेको छ।

clock शनिबार १८, कार्तिक २०८० १०:०४

प्रतिक्रिया