कैलालीका ६ ठाउँबाट धान किन्ने खाद्य कम्पनीको तयारी

  शुक्रबार १७, कार्तिक २०८० १५:३९

धनगढी। खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले कैलालीका ६ स्थानबाट ६० हजार क्विन्टल धान किन्ने तयारी गरेको छ। खाद्य कम्पनीले धनगढीको मोहनपुर र टीकापुर डिपोबाट केही दिनमा धान खरिद सुरु गर्ने भएको हो। तर, कैलालीका बाँकी चार ठाउँबाट पनि धान किन्ने तयारी रहे पनि कहिलेबाट सुरु हुन्छ यकिन छैन ।

खाद्यले कैलालीबाट ६० हजार क्विन्टल धान खरिदको कोटा पाएको छ। खाद्यले गत वर्ष कैलालीबाट ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा ३० हजार क्विन्टल मात्र खरिद गरेको थियो । गोदाममा भण्डारणको समस्या भएपछि गत वर्ष लक्ष्यअनुसार धान खरिद गर्न नसकिएको खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले बताइन्।

खाद्यको धनगढी, टीकापुर र शक्तिमा गरी तीनवटा गोदाममा ३५ हजार क्विन्टल भण्डारणको क्षमता छ । ‘खाद्यसँग यहाँ ६० हजार क्विन्टल भण्डारणको क्षमता छैन,’ उनले भनिन्, ‘तर पहाडी जिल्लामा चामल ढुवानीका लागि धान खरिदसँगै कुटानी सुरु गरिने भएकाले भण्डारणमा केही सहज पनि होला ।’

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार धान उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको कैलालीमा ६९ हजार हेक्टरभन्दा बढी क्षेत्रमा बर्खायाममा धान खेती हुने गरेको छ । जिल्लामा करिब बर्खे सिजनमा करिब सवा तीन लाख टन धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रराज शर्माले जानकारी दिए । यहाँ धानको उत्पादकत्व औसतमा प्रतिहेक्टर ४.५ टन छ । त्यस्तै, करिब एक हजार हेक्टरमा चैते धान खेती गरिन्छ ।

clock शुक्रबार १७, कार्तिक २०८० १५:३९

प्रतिक्रिया