‘रिगल’ कारागार चलान, ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय

  शुक्रबार १७, कार्तिक २०८० १५:३५

खजुरा । बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । 

रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिए।

बाँके प्रहरीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले रिगललाई आज बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेश गरेको जानकारी दिए ।

बिहीबार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर आज ११ बजे बाँके जिल्ला अदालतमा बुझाएको हो ।

यसअघि जन्मकैद सजाय पाएका ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको थियो । आदेशलगत्तै रिगललाई पक्राउ गरिएको हो । रिगलका सहयोगीले उहाँले प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् । 

नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो । 

clock शुक्रबार १७, कार्तिक २०८० १५:३५

प्रतिक्रिया