कैलारीको ९ नम्बर वडाको ताला आज खुल्ने, के भयो त सहमति ?

  शुक्रबार १७, कार्तिक २०८० ११:०६

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ मा गरिएको तालाबन्दी आज खुल्ने भएको छ। स्थानीय र वडा कार्यालयबिच कोइलहुवा तालको ठेक्का प्रक्रिया, विद्युत् सेवा प्रवाह, विद्यालय, खानेपानीलगायत विषयमा विवाद भएको थियो।

विवादपछि स्थानीयले वडा कार्यालयमा कार्तिक १३ गतेदेखि तालाबन्दी गरेका थिए। बिहीबार स्थानीय तथा सम्बन्धित सरोकारवालाबिच जिल्ला प्रहरी कार्यालय धनगढीमा छलफल भएको थियो। छलफलपछि तालाबन्दी खोल्ने सहमति भएको हो।

छलफलमा सहभागी कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले कोइलहुवा ताल, रौरा बाबा विद्युत् सहकारी, विद्यालय, खानेपालीलगायतमा दुई भन्दा बढी समिति गठन गरिएको बारे अनुगमन गरी वैध समितिलाई मान्यता दिने, तालको ठेक्का समूहमार्फत नभइ पालिकामार्फत गर्ने, तालको पानी सर्वसुलभ रूपमा सिँचाइमा प्रयोग गर्ने सहमति भएको जानकारी दिए। सहमतिपछि आज तालाबन्दी खोल्ने सहमति भएको पालिका अध्यक्ष चौधरीले बताए।

आन्दोलनरत स्थानीयले कोइलहुवा तालको ठेक्का प्रक्रिया कोइलहुवा सामुदायिक वन उपभोक्ता समूहमार्फत गर्न नहुने र ताल क्षेत्रलाई वन क्षेत्रबाट अलग राखी सिमसार बनाइनुपर्नेका साथै तालको पानी सिँचाइको लागि प्रयोग गर्न पाउनुपर्ने, रौराबाबा विद्युत् सहकारीको अवैध समिति खारेज गर्नुपर्ने र शेयर सदस्यता खुला गर्नुपर्ने, खानेपानी, विद्यालयमा देखिएका समस्याको निकास दिनुपर्ने माग स्थानीयको थियो।

त्यस्तै ताल, विद्युत् सहकारी, विद्यालय, खानेपानीमा वडाध्यक्ष खेमराज चौधरीले मनलाग्दी रूपमा समिति निर्माण गरेको र जनताको समस्यालाई बेवास्ता गर्दै आएको स्थानीयको गुनासो थियो। यसैबीच गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्ष खेमराज चौधरीलाई जनताप्रति जिम्मेवार हुन निर्देशन दिएको बताए। 

clock शुक्रबार १७, कार्तिक २०८० ११:०६

प्रतिक्रिया