वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभर हिँड्नुपर्ने बाध्यता

  मङ्गलबार १४, कार्तिक २०८० १३:५७

दार्चुला । दुर्गम गाउँका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभर हिँड्नुपर्ने बाध्यता रहेको छ । लेकम गाउँपालिका–६, तिउने गाउँका ९० वर्षीय मनिनाथ केही दिनपहिले सामाजिक सुरक्षा भत्ता बुझ्न लेकम वडा नम्बर ५ मा रहेको लक्ष्मी सनराइज बैङ्कमा पुगे । 

पालो कुरेर भत्ता बुझ्दै गरेका नाथले भने, “गाडी नपाए बैङ्कसम्म आउन सक्दिनँ, गाडी पाउँदासमेत आउँदाजाँदा पाँच सय भाडा तिरेर कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।” गाउँमै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था भए सहज हुने उनको भनाइ छ । 

लेकम गाउँपालिका वडा नम्बर १, सेजालीका ७४ वर्षीय हरसिंह कार्कीले सामाजिक सुरक्षा भत्ता बुझ्न बिहान ६ बजे घरबाट हिँड्ने गरेको बताउनुभयो । “बिहान उठ्नेबित्तिकै बैङ्कका लागि हिँड्दा भत्ता बुझेर घर फर्किंदासम्म बेलुकी भइसक्छ,” उनले भने। 

भत्ता बुझ्नका लागि दिनभर हिँड्नुपर्ने र बैङ्कमा पालो कुर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीय ज्येष्ठ नागरिक तनावमा देखिन्छन् । लेकम गाउँपालिका वडा नम्बर २ का ७२ वर्षीय लालसिंह धामी पनि घण्टौँ हिँडेर बैङ्कसम्म आउनुभन्दा वडाबाट नै गाउँघरमै भत्ता बुझ्ने व्यवस्था भइदिए सहज हुने बताए । 

बिहानको झिसमिसेमै हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म पुग्न निकै सास्ती हुने गरेको उहाँहरूको गुनासो छ । बुढेसकालमा गलेको ज्यान एक घण्टाकै बाटोमा धेरै समय लाग्ने गरेको छ । 

कतिपय स्थानमा पैदल हिँड्ने बाटोसमेत राम्रो बनाइएको छैन । हरेक तीन महिनामा यसरी बैङ्क धाउँदा धेरै समस्या हुने गरेको लेकमका कौसा बोहराले बताए। बुढेसकालका कारण समय बित्दै जाँदा हिँडडुल गर्न समस्या हुने गरेको छ ।

clock मङ्गलबार १४, कार्तिक २०८० १३:५७

प्रतिक्रिया