कैलालीको डल्फिन क्षेत्रबाट अजिङ्गरको उद्धार

  आइतबार १२, कार्तिक २०८० १९:२५

धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गरको आज उद्धार गरिएको छ । 

स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गाना, क्षेत्रराज रेग्मी, कुस्माकर न्यौपाने लगायतकाले अजिङ्गरको उद्धार गरेका हुन् ।

घाइते अजिङ्गर धान काटेको खेतमा फेला परेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनुभएका संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए । 

उहाँका अनुसार अजिङ्गरको टाउकोमा चोट लागेको छ । उद्धार गरिएको अजिङ्गर डेढ मिटर लामो र १० केजी तौलको रहेको जनाइएको छ । अजिङ्गरको पशु प्राविधिक एवम् संरक्षणकर्मी प्राङ्कुश चौधरीले उपचार गरे । 

उपचार पश्चात् अजिङ्गरलाई सत्ती कर्णाली सामुदायिक वनमा छोडिएको ढुङ्गानाले बताउनुभयो । केही दिनअघि पनि सो नगरपालिकामा रहेको धान खेतमा घाइते अवस्थामा वयस्क अजिङ्गर फेला परेको थियो । 

clock आइतबार १२, कार्तिक २०८० १९:२५

प्रतिक्रिया