कञ्चनपुरको मझगाउँ विमानस्थलः निर्माणको समयावधि सकिँदै, काममा बेवास्ता

  शनिबार ११, कार्तिक २०८० १३:४१
फाईलफोटो

धनगढी । कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणको कामले अझै गति लिन सकेको छैन्। भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले अझै गति लिन सकेको छैन।

तीन वर्षभित्र निर्माण पुरा गर्ने गरी सम्झौता गरिएको भए पनि प्रगति ४० प्रतिशत पनि पुग्न सकेको छैन्। २०७८ सालमा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम केएस उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर जग्गाको भोगाधिकार विवाद तथा निर्माण सामग्री अभावका कारण उक्त विमानस्थल निर्माणले गति लिन नसकेको दाबी छ।

विविध कारण कामले गति लिन नसकेको मझगाउँ विमानस्थल आयोजनाका इन्जिनियर अंकित शर्माले बताए। अहिलेसम्म विमानस्थल धावनमार्गको ९ सय मिटर सवबेस निर्माण भएको छ भने ९ सय मिटर नाली निर्माणको काम सकिएको छ। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा उक्त विमानस्थल पुनर्निर्माण भइरहेको हो।

विमानस्थल पुनर्निर्माणमा भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा–चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र संघीय सरकारको ५० प्रतिशत लगानी रहेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्न वाटिका र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकार लिने विषयमा विवाद भएको थियो।

धावनमार्ग निर्माणका क्रममा निर्माण कम्पनीका उपकरण र कामदार निकुञ्जले नियन्त्रणमासमेत लिएको थियो। काम सञ्चालन गर्न दिने मौखिक सहमति तथा भोगाधिकारका लागि प्रक्रिया अगाडि बढाउने भएपछि उक्त क्षेत्रमा धावनमार्ग निर्माणको काम भइरहेको छ।

मझागाउँ विमानस्थलमा अहिले एक हजार ५ सय २५ मिटर लामो धावनमार्गसमेत निर्माण गरिनेछ। २०३० सालदेखि मझगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको थियो। सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाको कारण देखाउँदै उक्त विमानस्थल बन्द गरिएको थियो। त्यस समयदेखि उक्त विमानस्थल सञ्चालनमा आउन सकेको छैन।

clock शनिबार ११, कार्तिक २०८० १३:४१

प्रतिक्रिया